काठमाडौं, वैशाख – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गरेका छन्। प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।आइतबार नवनियुक्त परराष्ट्रमन्त्री साउदले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहणपछि मन्त्री साउदले आइतबार नै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन्। साउद कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले चैत १७ मा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए। साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो छ। प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी छन्।पदभार ग्रहण गर्दै मन्त्री साउदले छिमेकी लगाएत विश्वभरकै देशसंगको सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाने बताए। उनले प्रधानमन्त्रीको भारत भ्रमणलगायतका विषयमा सचिवहरुसँग जानकारी लिने बताए।त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी नेकपा एकीकृत समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य नन्दा चपाईले पनि आइतबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन्।