११ तले आधुनिक धरहराको आज सिलान्यास, ३ अर्ब ४५ करोड मा निर्माण हुने।

१२ पुष २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया


११ तले आधुनिक धरहराको निर्माणको औपचारिक रुपमा शिलान्यास आज गरिँदै छ ।२०७२ वैशाखको भूकम्पले भत्किएर ठूटो मात्र रहेको ९ तले धराहराको ठुटो यथावत राखी नजिकै आधुनिक प्रविधिद्वारा ११ तले धरहरा निर्माण गरिन लागेको हो । पुनर्निर्माणमा भएको ढिलाइले धरहरा ढलेको ३ वर्षपछि आज औपचारिक रुपमा पुनर्निर्माणको शिलान्यास गरिन लागेको हो ।शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे गर्ने कार्यक्रम रहेको छ । धरहरा परिसरलाई कम्पाउण्डिङ गर्ने, भत्किएको धरहरालाई संरक्षण गर्नेलगायतको सुरुआत भने केही साताअघि नै भइसकेको छ । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ सालमै ‘मै बनाउँछु मेरो धरहरा’ नारा दिएर रकम संकलन अभियान नै चलाएका थिए ।पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको छ । कम्पनीले तीन अर्ब ४५ करोड रुपैयाँमा धरहरा निर्माणको जिम्मा पाएको हो ।

नयाँ बन्ने धराहरा र कम्पाउन्ड २९ रोपनी क्षेत्रफलमा फैलिने बताइएको छ । धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैँचा, रेष्टुराँ, पार्किङलगायतका सुविधाहरु रहनेछन् । नयाँ बन्ने धरहरा ११ तलाको हुने जनाइएको छ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी आधुनिक लिफ्ट हुनेछ ।यद्यपि नयाँ धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिने भए पनि धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ । यसअघि विसं १९९० सालको भुइँचालोले भत्काउनुअघि धरहरा ११ तलाकै थियो, त्यतिबेला पुनर्निर्माणका क्रममा ९ तला मात्र बनाइयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया