बुटवल उपमहानगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

प्रकाशित मिति:

बुटवल- वैशाख । बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुधबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्नुभयो । बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा खोप समन्वय समिति र बुटवल उपमहानगरपालिकाको सिफारिशका आधारमा जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।घोषणा कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवलमा कुनैपनि प्रकारका खोपको अभाव हुन नदिन बुटवलले विशेष चासो दिएको र पर्याप्त पूर्वतयारी गर्दै आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गरेको बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा बुटवललाई अगुवा बनाउनका लागि छिटै नै दुई वटा सुविधासम्पन्न अस्पतालहरु सञ्चालनको तयारी अवस्थामा पुगेको र यसले बुटवलको स्वास्थ्य क्षेत्रमा अर्को फड्को मार्ने बताउनुभयो ।कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको स्वास्थ्यलाई बुटवल उपमहानगरपालिकाले विशेष चासो र प्राथमिकतामा राखेको बताउनुभयो ।स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बुटवलले खोप दिगोपना सुनिश्चित गर्न हरेक पटक अगाडि नै काम गरेको र सम्पूर्ण सुविधा प्रदान गरेको बताउनुभयो ।बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बुटवलले १६ महिनादेखि २ वर्षसम्मका बालबालिकाहरुले १५ महिनासम्ममा पाउनुपर्ने सम्पूर्ण खोप लगाएको र पूर्ण खोप सुनिश्चित गर्दै आवश्यक मापदण्डहरु पूरा गरेको बताउनुभयो ।