रास्वपा जापानको तोहोकु सेन्दाईमा प्रकाश खतिवडाको सभापतित्वमा क्षेत्रीय समिति गठन

प्रकाशित मिति:

सेन्डेई जापान, जापानको तोहोकु सेन्दाईमा रहँदै आएका नेपालीहरूको सम्पन्न एक भेलाले रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानको तोहोकु सेन्दाई क्षेत्रीय समितिको गठन गरेको छ । प्रकाश खतिवडाको सभापतित्वमा गठन गरिएको सो समितिको उप सभापतिमा सागर पोख्रेल, महामन्त्रीमा राजेश खनाल, सह महामन्त्रीमा विशाल खनाल, कोषाध्यक्षमा गंगादत्त जोशी र सह कोषाध्यक्षमा पुष्पा बोहोरा चयन भएका छन् ।समितिको सदस्यहरूमा टुकाराम लामिछाने, दीपेश कार्की, भावना भुर्तेल, सेरप शर्पा, विपिन निरौला,अनिल गौतम, सुरेन्द्रप्रसाद दास, सम्झना मजाकोटी, रमोद कार्की, दिनेश बोगटी, विकास श्रेष्ठ, जीतबहादुर सुब्बा र रुपेशकुमार मण्डल रहेका छन् । रास्वपा कान्तो क्षेत्रका कोषाध्यक्ष विशाल विकका अनुसार तोहोकु क्षेत्रका विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको सो भेला समीरजंग खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

जापानमा रहेका नेपालीहरू रास्वपाप्रति आकर्षित भएको रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानको सभापति दिलेन्द्रप्रसाद जोशीले बताए । ‘अहिले हामीलाई जापानमा रहुन् हुने विभिन्न पेशा र व्यवसायमा संलग्न नेपाली दाजुभाइ, दिदीबहिनीहरूले स्थानीय क्षेत्रहरूमा पनि समिति गठन र विस्तारको लागि आग्रह गरिरहनु भएको छ,’ उनले भने, ‘हामीलाई अहिले सोचिए भन्दा धेरै नै साथ अनि सहयोग मिलिरहेको छ र झनै ऊर्जाशीलपनि बनाएको छ ।’विभागका महामन्त्री खेमराज पौडेल जुलाई र अगस्ट महिनाभित्रमा बाँकी रहेको सबै क्षेत्रहरूमा समिति विस्तारको योजना रहेको छ । जुलाई ८ मा नागोया, जुलाई २२ मा होक्काईदो, जुलाई २९ सिजुओका, अगस्ट ५ मा ओकिनवा, अगस्ट १२ मा फुकुओका र अगस्ट २६ मा हिरोसिमामा क्षेत्रीय समिति विस्तारको कार्यक्रम तय गरिएको उनको भनाई छ ।रास्वपाले जापानमा रहेका सबै नेपालीसँग समदूरीमा रहेर काम गर्ने रास्वपा कान्तो क्षेत्रीय समितिका सभापति प्रेमप्रसाद कँडेलले बताए । ‘हामीले शुरूआति चरणमा जुन उद्देश्य र अपेक्षाका साथ जापानमा पनि रास्वपा विस्तारको अभियान चलाएका थियौँ, त्यो भन्दा बढी नै सफलता प्राप्त गरिरहेका छौँ,’ उनले भने, ‘जापानमा राजनीतिक, व्यावसायिक, सामाजिक अनि सांस्कृतिकरूपमा उच्च पहिचान र अग्रणी भूमिकामा रहुन् भएका व्यक्तित्वहरूसँगै रास्वपामा रहेर आगामी यात्रा गर्ने अवसर पाएका छौँ ।