स्ट्याण्डर्ड चार्टर्डले घटायो ब्याजदर

प्रकाशित मिति:

स्ट्याण्डर्ड चार्टर्ड बैंक SCB ले निक्षेपको ब्याजदर घटाएको छ। बैंकले असार महिनाको लागि मुद्दति निक्षेपमा ब्याजदर घटाएको हो। बैंकले मुद्दति निक्षेपको ब्याजदर १ प्रतिशत विन्दु घटाएको हो। बैंकले जेठ महिनामा ८.९९ प्रतिशत रहेको ९१ दिनको मुद्दति निक्षेपको ब्याजदर घटाएर ७.९९ प्रतिशतमा झारेको छ। त्यसैगरी, बैंकले १२१ देखि ३६४ दिनको मुद्दति निक्षेप तथा १ वर्षभन्दा बढी अवधिको निक्षेपको ब्याजदर ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशतमा झरेको छ।

त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि ७.९९ प्रतिशतबाट घटेर ६.९९ प्रतिशतमा झारेको छ।बैंकको पछिल्लो तीन महिनाको औषत आधार दर पनि घटेको छ। चैत, २०७९ सम्मको त्रैमाससम्ममा ९.४२ प्रतिशत रहेको बैंकको औषत आधार दर, वैशाख २०८० सम्मको त्रैमाससम्ममा घटेर ९.३५ प्रतिशतमा झरेको छ। वैशाखसम्ममा बैंकको स्प्रेड दर ४.२० प्रतिशत रहेको छ।गत मंगलबार बसेको नेपाल बैंकर्स संघले असार महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेका थिए। अन्य बैंकहरुले सोही निर्णय अनुसार असार महिनामा मुद्दति निक्षेपमा अधिकतममा ९.९९ प्रतिशत ब्याज दिने भएका छन्।