भैरहवा असार । जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको जिल्ला भेला बिहीबार भैरहवामा सम्पन्न भएको छ । भेलाले सियाराम यादवको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा नवल किशोर सिंह, कलामुद्दीन खाँ, सुशिला चौधरी र सचिवमा विष्णु अधिकारी रहेका छन् । त्यस्तै जिल्ला उपसचिवमा कमाल अख्तर फकिर, राम अवध गुप्ता, राजकुमार लोध र सुनिता खडुलक रहेका छन् ।भेलालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले पार्टीमा नेतृत्वको भूमिका अझ महत्वपूर्ण रहने बताए । उनले २०७४ मा रुपन्देहीमा जसपा दोस्रो दलको रुपमा स्थापित भए जस्तै पार्टीलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।
जसपा लुम्बिनी प्रदेश सह–इञ्चार्ज नविन सुनुवारले २०८४ को निर्वाचनमा जसपालाई पहिलो पार्टी बनाउने गरी लाग्नुपर्ने बताए । उनले पार्टीमा इमान्दारिता आवश्यक रहेकोमा जोड दिए ।पार्टीका युवा नेता तथा राजनीतिक समिति सदस्य मनिकर कार्कीले जसपा कसैको रहरले नभइ मुलुकको आवश्यकताले जन्मिएको पार्टी भएको दावी गरे । उनले जसपा रुपन्देहीको नयाँ नेतृत्व तथा टीमले पार्टीलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।जसपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले विगतको निर्वाचनमा सोचेअनरुप परिणाम ल्याउन नसकिएको बताए । उनले जसपाले बोकेको एजेण्डामा नै मुलुक चलिरहेको दावी गरे ।
केन्द्रीय सदस्य सावित्रा विश्वकर्माले सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिइन् । उनले जसपालाई बलियो बनाउन अघि बढ्नुपर्ने बताइन् ।जसपा रुपन्देहीका निवर्तमान अध्यक्ष रामअवतार यादवले पार्टीलाई अझ बलियो बनाउने गरी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवले सबैको सल्लाह–सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘म एउटा पात्र मात्र हुँ, सहयोग तथा सल्लाह र सुझाव बिना एक्लै अघि बढ्न सक्दिन । मलाई पार्टीमा अगाडि बढाउने नेताहरुलाई कहिल्यै बिर्सन सक्दिन ।’ जसपा रुपन्देहीका सचिव विष्णु अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।