अनिस घिमिरेको उपन्यास ‘द स्टारडस्ट इन अस’ लोकार्पण

प्रकाशित मिति:

काठमाडौं– युवा प्रतिभा अनिस घिमिरेद्वारा अंग्रेजी भाषामा लिखित दोस्रो उपन्यास ‘द स्टारडस्ट ईन अस’ लोकार्पण गरिएको छ । माइतीघरस्थित सेण्ट जेभियर कलेजको सभा हलमा आयोजित एक औपचारिक कार्यक्रम माझ प्रोफेसर डा. अभि सुवेदी, प्रोफेसर डा. ईन्द्र कार्की, प्रोफेसर डा. राजनप्रसाद पोखरेल र सेण्ट जेभियर कलेजका प्रिन्सिपल डा. फादर डा. अगस्टिन थोमसले उक्त कृतिको विमोचन गरेका हुन् । प्रोफेसर डा. अभि सुवेदीले स्टार डस्ट युवाको काल्पनिक शक्तीको उपज भएको बताउँदै विषय वस्तु, पात्रहरुमार्फतको कथा आदिले लेखक अनिस सन्तुलनमा रहेर उत्कृष्ट कृति पस्कन सफल रहेको उल्लेख गरे । साथै उनले पढ्दै जाँदा अनिसको कौतुहलपूर्ण र सिर्जनशील लेखनीले आफु बाँधिएको र नेपालमा प्रकाशित हुँदै आएका अन्य उपन्यासको दाँजोमा अनिसको कृति अब्बल भएको आफुले पाएको बताए ।

सो अवसरमा कृतिकार घिमिरेले जीवनको अर्थ पहिल्याउन दुई सजीव पात्रमार्फत पृथ्वीलाई मात्र हेर्ने परम्परा भन्दा फरक अर्थात् तारा समेतलाई दृष्टिगोचर गरेर आफुले दोस्रो कृति रचना गरेको बताए । कलेज, अभिभावक र अन्य धेरैको सहयोगले आफु यस स्थानसम्म आई पुगेको स्मरणका साथ सबैप्रति आभार व्यक्त गर्दैै उनले आफ्नो उपन्यास पनि समाजकै उपज भएको उल्लेख गरे ।प्रोफेसर डा. राजनप्रसाद पोखरेलले लेखक घिमिरे आफनो सबैभन्दा मन पर्ने लेखक भएको बताउनुहुँदै घिमिरेको लेखनी विश्व स्तरको रहेको र आफुले समेत त्यति सशक्त शैलीमा लेख्न नसक्ने उल्लेख गरे । सेण्ट जेभियर कलेजका प्रिन्सिपल थोमसले आफुले अनिसलाई विद्यार्थीका रुपमा अभुतपूर्व रहेको पाएको र कलेजले पहिले पनि सम्मान गरिसकेको भन्दै उनको यो कृतिले शिक्षासेवी सबैले प्रेरणा लिन सक्ने बताए ।

कार्यक्रममा युवाहरुको प्रतिनिधित्व गर्दै सिवानी बज्राचार्य र अनुस्का घिमिरेले लेखक र कृतिको बिषयमा बोलेका थिए । लोकार्पण कार्यक्रममा अनिसका आफन्तजन, सहपाठी, साहित्यप्रेमी लगायतको बाक्लो उपस्थिती रहेको थियो । सो अवसरमा सेण्ट जेभियरमा अध्ययनरत विद्यार्थी एवम् युवा श्रस्टाहरुले गायन तथा कवितामार्फत मनोरंजन दिलाएका थिए । २७१ पृष्ठको उक्त उपन्यासको प्रकाशन इन्डिगो इन्कले गरेको हो । उक्त उपन्यासको भाषा शैली र कथावस्तुमा मिठासपन रहेसँगै कृति उत्कृष्ट रहेको र युवाहरुसँगै अन्य उमेर समुहका लागि पनि पठनीय रहेको प्रकाशकको दाबी छ ।