बुटवल-असार । प्रतिनिनिध सभा सदस्य सुर्य थापाले लुम्बिनी केबलकार बुटवलको विशेष गन्तव्य बनेको बताएका छन् ।केबलकारको अवलोकन र कामाख्यादेवी मन्दिरको दर्शनपछि पत्रकारहरुसंग कुरा गर्दै संघीय सांसद थापाले बुटवल, भैरहवा र आसपासका जिल्लाका लागि मात्र नभई सीमावर्ती भारतीय पर्यटकलाई आकर्षित गर्न लुम्बिनी केबलकार विशेष गन्ब्य बनेको बताएका हुन् ।केबलकारको टप स्टेशन पाल्पाको बसन्तपुरमा बनेको कामाख्या देवीको मन्दिर केबलकारको अर्को विशिष्ट आकर्षण भएको उल्लेख गर्दै सांसद थापाले भारत आसामको गुवाहटीस्थित कामाख्या मन्दिरसम्म पुग्न नसक्ने नेपाली र भारतीय भक्तजनको रोजाई अब बसन्तपुर बन्ने बताए । सरकारले निजी क्षेत्रको लगानीमा बनेका ठूला पर्यटकीय गन्तव्यको बजारीकरणमा पनि सहयोग गर्नुपर्ने सांसद थापाले बताए ।
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको आयोजना छोटो अवधिमै सम्पन्न हुनु सरकारका लागि गतिलो पाठ भएको बताए । आईएमई ग्रुपको नेतृत्वमा १४ महिनाको छोटो अवधिमा साढे ३ अर्बको केबलकार परियोजना सम्पन्न हुनु निजी क्षेत्रले राम्रो सामथ्र्य देखाएको र यसबाट सरकारले वर्षौंसम्म आयोजना पूरा गर्न नसक्ने रवैयालाई राम्रो जवाफ भएको सांसद थापाले बताए ।
चन्द्रागिरी, मौलाकालिका हुंदै लुम्बिनी केबलकारसम्म आइपुग्दै आईएमई ग्रुपले सातै प्रदेशमा केबलकार बनाउने योजनाले पर्यटनको क्षेत्रमा ‘केबलकार सर्किट’को छुट्टै प्याकेज बन्न सक्ने सांसद थापाले औंल्याए ।
सातै प्रदेशमा केबलकार बनाउने आईएमई ग्रुपको योजनाका लागि ग्रुपका अध्यक्ष चन्द्र ढकाल र उहांको टिमलाई सफलताको शुभकामना दिन्छु’–सांसद थापाले भने–‘निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन सरकारले सहजिकरण गरिदिनुपर्छ ।’ निजी क्षेत्रको लगानीले रोजगारी सिर्जना र राजस्व बृद्धि हुने भएकाले लगानीकर्तालाई कुनै समस्या भए सरकार र राजनीतिक दलहरुले समाधान गरेर लगानीको वातावरण बनाइदिनुपर्नेमा सांसद थापाले जोड दिए ।सांसद थापालाई लुम्बिनी केबलकार प्रालिका अपरेसन म्यानेजर डीएन कायस्थलगायत कर्मचारीले स्वागत गरेका थिए ।