काठमाडौं, असार – श्रीलंका यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वापमा छनोट भएको छ। जारी छनोट प्रतियोगिताको सुपर सिक्सको दोस्रो खेलमा आयोजक जिम्बाबेलाई हराउँदै श्रीलंकाले विश्वापमा स्थान पक्का गरेको हो।आइतबार बुलावायोमा भएको खेलमा बलर चम्किएपछि श्रीलंकाले जिम्बाबेलाई ९ विकेटले हरायो। यो जितसँगै सुपर सिक्समा ८ अंक जोड्दै श्रीलंकाले एक खेल अगावै विश्वकपमा स्थान पक्का गरेको हो।पराजयका बाबजुद जिम्बाबेको विश्वकपमा पुग्ने सम्भावना पनि कायमै छ। उसले ४ खेलमा ६ अंक जोडेको छ। जिम्बाबेसँगै स्कटल्यान्ड र नेदरल्यान्ड्सको पनि विश्वकप पुग्ने सम्भावना बाँकी नै छ।
पहिला ब्याटिङ गर्दै जिम्बाबेले दिएको १६६ रनको झिनो लक्ष्य श्रीलंकाले ३३।१ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो। उसका लागि पाथुम निसन्काले शतकीय योगदान दिए। उनले १०२ बलमा १४ चौका प्रहार गर्दै १०१ रन बनाए।यस्तै, दिमुथ करुणारत्नेले ५६ बलमा ३० रन बनाउँदा कुशल मेन्डिस ४२ बलमा २५ रन बनाएर नटआउट रहे। जिम्बाबेका लागि एकमात्र विकेट रिचार्ड नागारावाले लिए।त्यसपछि पहिला ब्याटिङ गरेको जिम्बाबे ३२।२ ओभरमा १६५ रनमा अलआउट भयो। उसका लागि इनफर्म ब्याट्सम्यान सेन विलियम्सले सर्वाधिक ५६ रन बनाए। यस्तै, सिकन्दर राजाले ३१ रन बनाउँदा अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन्। जिम्बाबेलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका महिश तिक्सानाले ८।२ ओभरमा २५ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, दिल्सान मधुसनकाले ५ ओभरमा १५ रन खर्चेर ३ किवेट लिँदा मथिस पथिरानाले २ विकेट लिए।