तिलोत्तमा, असार २४। रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयबाट गत वर्ष एसइइमा सरिक भई उत्तीर्ण भएका विद्यार्थीहरुलाई आज आइतबार सम्मान कार्यक्रम गरिएको छ ।
शान्तिबाट एसइइ परीक्षामा सहभागी भएका ४ सय ६० जना विद्यार्थीहरुलाई उनीहरुका अभिभावक सहित सम्मान गरिएको हो । विद्यालयबाट अतिष्मा शाह, बिशाल रिजाल र राजु ठाकुरले ३.८५ जिपिए सहित विद्यालयबाट सर्वोत्कृष्ट हुन सफल भएका थिए भने २५ जना ए प्लसमा, १ सय १७ जना ए मा, १ सय ५८ जना बि प्लसमा , १ सय १० जना बि मा, ४७ जना सि प्लसमा र ३ जना सि ग्रेडमा उत्तीर्ण भएका हुन् ।
सोही अवसरमा हालै मलेसियामा सम्पन्न एसिसि मेन्स अन्डर सिक्सटिन इष्ट जोन क्रिकेट टुर्नामेन्टमा नेपाली टोलीमा सहभागी भई प्रथम स्थान हासिल गर्न सफल शान्ति नमुनाको कक्षा १२ मा अध्ययनरत प्रतिक भट्टराई र उहाँको पविारलाई समेत सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले शैक्षिक उचाइ चुम्नका लागि शान्ति नमुनाले गरेको कार्य प्रसंशनीय रहेको भन्दै तिलोत्तमालाई शैक्षिक हव बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले एउटा कक्षाको नतिजालाई लिएर मात्रै समग्र शैक्षिक यात्राको मूल्याङ्कन नहुने भन्दै विद्यार्थीहरुलाई आगामी दिनमा थप शैक्षिक सफलताको शुभकामना दिनुभएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यको स्वागत तथा शिक्षक दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा कक्षा ११ र १२ का संयोजक राजेन्द्र के.सी., आइसिटि संयोजक शेखर पौडेल, अभिभावक प्रितम ठाकुर, विद्यार्थीहरु अतिष्मा शाह, समिक्षा ज्ञवाली लगायतले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।