प्रकाश न्यौपाने /नारायण भण्डारी
श्रावण १ गते
नवलपरासी । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले लामो समयदेखी रिक्त रहेका काज सरुवा गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै शिक्षा ऐन संशोधन गरेको नगरपालिकाले २१ जना शिक्षकको दरन्दी मिलान गरी काजमा सरुवा गरेको छ ।
सोमबार बसेको नगर शिक्षा समितिको बैठकले दरबन्दी मिलान हुने शिक्षकहरुको टुंगो लगाई निर्णय गरेको हो ।
कुन शिक्षक कहाँ बाट कहाँ सरुवा भए ?
सोमबार बैठक ढिला सम्पन्न भएकोले मंगलबबार विहान १० बजे सरुवाको पत्र दिईने नगर प्रमुख तथा नगर शिक्षा संयोजक शम्भुलाल श्रेष्ठले बताउनु भयो । उहा भन्नुहुन्छ “ साउनको ३ गते सम्म विद्यालय विदा छ ४ गते हाजिर हुँदा सरुवा भएको विद्यालयमा हाजिर गर्ने गरी सरुवा गरिएको छ । ”
लामो समय देखि दरबन्दी मिलानको चर्चा भए पनि यस अघि विभिन्न कारणले कार्यान्वयनमा आउन सकेको थिएन । लामो समयको प्रयास र शिक्षा ऐन संसोधन गरी नगरले काज सरुवा गरेको छ ।
नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले शिक्षा समितिले ल्याएको दरबन्दी मिलानको प्रस्ताव ठिक रहेको बताउनु भयो । उहाले नगरको शैक्षिक गुणस्तर सुधार गर्नका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको भन्दै सबै पक्ष मिलेर अगाडि बढ्नका लागि आग्रह गर्नु भयो ।
सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङले नगरको शिक्षा सुधारका लागि शिक्षकहरुको ब्यबस्थापन गरिएको बताउनु भयो । उहाले काज सरुवा शिक्षामा सकारात्मक परिणाम देखिने अपेक्षा ब्यक्त गर्नु भयो ।
दरबन्दी मिलान प्रति शिक्षक महासंघ बर्दघाट नगर अध्यक्ष सभ्यता प्रसाँईले नगरले आफैले बनाएको कार्यबिधि कुल्चेर शिक्षकहरुको सरुवा गरेको बताउनु भयो । उहा भन्नुहुन्छ“ शिक्षा समितिको बैठकमा कुनै पनि आधार र सहमति बिना निर्णय भएको छ त्यसैले मैले हस्ताक्षर नगरी हिँडे ।” प्रसाईले शिक्षा समितिले गरेको निर्णयले कसैलाई न्याय र कसैलाई अन्याय भएको हुँदा निर्णयमा सहमत नभएको बताउनु भयो ।