बुटवल,३ साउन । टिकटदर आधा सस्तो हुने गरी लुम्बिनी केबलकारले सार्वजनिक गरेको मर्निङ अफर आजबाट शुरु भएको छ ।
केबलकारले साउनको पहिलो बुधबार अर्थात आजदेखि लागु हुने गरी साउन र भदौ महिनाभर हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट दर ३५० रुपैयां मात्र कायम गरेको छ । हाल केबलकारको साधारण टिकट दर ७५० रुपैयां रहेको छ । अब नेपाली नागरिकहरुले हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म टिकट काटेपछि ३७५ रुपैयांमा केबलकारमा दुईतर्फी यात्रा गर्न पाउने लुम्बिनी केबलकार प्रालिका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए ।यस्तै भारतीय नागरिकले ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ ।९ बजेदेखि १२ बजेसम्म टिकट काटेपछि उक्त दिन सांझ ७ बजेसम्म आफ्नो अनुकुल जुनसुकै समयमा केबलकार चढ्न पाइने कम्पनीले जनाएको छ ।
यो अफरले केबलकार यात्रा गर्ने आन्तरिक र वाह्य पर्यटकको आगमन बढ्ने कम्पनीको अपेक्षा छ । सर्वसाधारणको मागलाई मध्यनजर गरेर यो अफर ल्याइएकाले यसको सदुपयोग गर्न कम्पनीले आग्रह गरेको छ ।यो अफरले आम सर्वसाधारणलाई समेत निकै सस्तो शुल्कमा केबलकार यात्रा गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । बुधबार वाहेक अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ ।लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेबाट व्यवसायिक सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने संख्या बढ्दो क्रममा रहेको आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए । टप स्टेशनमा सय वर्ष पुरानो भगवती मन्दिर,महादेव शिवको वाहन नन्दी, वर पिपल चौपारी,पोखरी लगायतका धार्मिक संरचनाहरु रहेका छन् । साउन महिनामा टप स्टेशनमा जलार्पण गर्ने व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ ।केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई ५० प्रतिशतका दरले बांडफाड गर्ने गरी सम्झौता गरेको छ ।