ग्रीन एण्ड क्लीन धरान अभियानमा केन्द्रीय सदस्य ढुंगाना र जिल्ला सभापति भण्डारी
धरानः साउन ६ गतेदेखि सञ्चालन हुंदै आएको ग्रीन एण्ड क्लीन धरान अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना र सुनसरी जिल्ला सभापति तथा ईनरुवा नगर प्रमुख केदार भण्डारी समेत सहभागी भएका छन् । नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ ले आयोजना गरेको एक महिने ग्रीन एण्ड क्लीन धरान अभियान धरान ८ मा पुग्दा ढुंगाना र भण्डारी सहभागी हुन आएका हुन् ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले सरसफाई र स्वच्छ वातावरण मानवका लागि अति आवश्यक रहेकाले क्षेत्रीय कार्यसमितिले धरानमा ल्याएको एक घर एक विरुवा रोपौं, सरफाई गरौं, डेङ्गो नष्ट गरौं अभियान अत्यन्त सान्दर्भिक रहेको बताएका छन् ।
त्यसैगरी ईनरुवा नगर प्रमुख समेत रहेका नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले धरान डेङ्गुले ग्रस्त भएकाले सर्च एण्ड डिस्ट्रय अभियान समेत सञ्चालन गर्न र धरानलाई सुन्दर, सफा र हरियाली बनाउन १ नं. क्षेत्रीय समितिले आयोजना गरेको ग्रीन एण्ड क्लीन धरान अभियानमा पार्टीका सबै तह र तप्काका साथीहरु लाग्नुपर्ने बताउंदै अभियानलाई सफल बनाउन आग्रह गरेका छन् ।क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टीका माथिल्लो तहका नेताहरु समेत सहभागी भईदिंदा हौसला र उत्साह थपिएको बताउंदै धरानले झेलिरहेको डेङ्गु महामारीलाई उन्मूलन गर्न राज्यको प्रयास पर्याप्त हुन नसकेको भन्दै अब पार्टी, नागरिक समाज, सामाजिक संघसंस्था र नागरिक आफैपनि सचेत भएर लाग्नुपर्ने बताएका छन् ।नेपाली कांग्रेसको एक महिने ग्रीन एण्ड क्लीन धरान अभियान भदौ १० गतेसम्म सञ्चालन हुने सभापति तामाङले जानकारी दिएका छन् ।