धरहरा पुननिर्माणले आजदेखि औपचारिकता पाउँदै, ओलीले शिलन्यास गर्ने

प्रकाशित मिति:

पुष १३ काठमाडौं : २०७२ बैशाख १२ को भुकम्पबाट क्षति भएको धरहरा निर्माणका लागि प्रधानमन्त्री केपी ओलीले आज शिलन्यास गर्देछन् । लामो समयसम्म धरहरा बनाउन खासै चासो नदेखाएको सरकारले आफ्नै लगानीमा धरहरा बनाउन लागेको छ । कस्तो बन्दै छ त धरहरा ? २०७२ साल बैशाख १२ गते गएको विनासकारी भुकम्पमा परि ऐतिहासिक पुरातात्विक महत्व बोकेको धरहरा खण्डहरमा परिणत भएको थियो । धरहरा बनाउनेमा सरकारको उदासिनताकै कारण साढे तीन बर्षपछि धरहराको पुननिर्माण भैरहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि बैशाख ३१ गते आह्वान गरेको टेन्डरमार्फत जिआइइटिसी–रमन जेभीले ठेक्का पाएसंगै काम शुरु भएको हो । ४२ रोपनी क्षेत्रफलमा फैलिने नयाँ धरहराले गोश्वारा हुलाक, टक्सार विभाग, र सुनधारा क्षेत्र ओगट्ने छ । निर्माण कम्पनीले नयाँ धरहराको जग खन्न सुरु गरेको छ । तीन महिनामै करिब चार प्रतिशत काम पुरा गरेको निर्माण कम्पनीले तोकिएकै समयभित्र धरहरा बन्ने दाबी गरेको छ । भूकम्पमा ढलेको धरहरालाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम टेम्पर्ड ग्लासले छोपेर राखिने छ । गजुरसहित नयाँ धरहराको उचाई ७७ मिटरको हुनेछ । धरहरा क्षेत्रमा मनोरम बगैँचा, सांगितिक फोहरा समेत निर्माण गरिने छ । धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल पनि बन्ने छ ।धरहरा निर्माणका लागि प्रधानमन्त्री केपी ओलीले २०७२ सालमा नेपालीको लगानीबाटै धरहरा बनाउन ‘मेरो धरहरा म बनाउँछु’ अभियान सुरु गरेका थिए । तर त्यो अभियानले पनि सार्थकता पाउन सकेको थिएन ।

थप समाचार