शारिरिक अपांगता भएकाहरुले पाए सहयोग सामाग्री

प्रकाशित मिति:

रामचन्द्र वि.क.

रामेछाप १३ पौष/
लामो समय देखि राम्रोसँग कान सुन्न नसक्ने मनमाया माझी राम्रोसँग कान सुन्न सक्ने भए पछि खुसीले दंग भएकी छिन् । मन्थली नगरपालिका वडा नं. १ की ३६ बर्षकी माझीलाई नेपाल रेडक्रस सोसाईटी रामेछापले निशुल्क रुपमा कान सुन्ने मेसिन उपलब्ध गराइदिए पछि उनि खुसी भएकी हुन् । राम्रोसँग कान सुन्न नसक्ने उनि यसअघि हातको चालले अरुले गरेको कुरा थाहा पाउने अहिले अरुले बोलाएको राम्रोसँग सुन्न सक्ने भएकी छिन् । त्यस्तै उनी जस्तै मन्थली र रामपुरका गरि नौ जनाले पनि मेसिनको मद्धतले कान सुन्न सक्ने भएका छन् । त्यस्तै शारिरिक अपांगता भएका ५ जनालाई ह्वील चियर, १० जना लाई बैसाखी र अन्य २२ जना अपांगताको प्रकृति अनुसार बिभिन्न सहयोग सामाग्री प्राप्त गरे ।


रेडक्रस विभिन्न कारणले शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई बुधबार मन्थली र बिहिबार रामपुर सहयोग सामाग्री वितरण गरेको हो । नेपाल रेडक्रस सोसाईटीले जिल्लामा संचालन गरेको भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत उक्त सहयोग सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक जयराम बस्नेतले बताए । उनका अनुसार यस अगाडि जिल्लामा स्वास्थ्य जाँच शिबिरको आयोजना गरि पहिचान र सिफारिस भएका व्याक्तिहरुलाई सामाग्री बितरण गरिएको हो ।


उनिहरुलाई सहयोग सामाग्री बितरण गर्दै नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय महामन्त्री देवरत्न धाख्वाले अपांगता भएका व्याक्तिहरुको क्षेत्रका नेपालमा अहिले धेरै काम गर्नुपर्ने भएकोले जसले जे सक्छ आ,आफ्नो ठाउँबाट सक्दो गर्नुपर्ने बताए । कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले अब अपांगता भएका नागरिकहरुलाई नगरपालिकाका उपप्रमुख र गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा बन्ने समितिले अपांगता परिचयपत्र वितरण गर्ने जानकारी दिइन् । कार्यक्रममा बोल्दै रेडक्रस रामेछापका अध्यक्ष शिब कुमार कार्कीले रेडक्रसले गरेको सहयोगले फरक क्षमता भएका ब्यक्तिहरुलाई ठुलो सहयोग पुगेको बताए । उनले स्थानीय सरकारले उनिहरुको लागि विषेश कार्यक्रम ल्याए राम्रो हुने बताए ।