‘मेरी आमा रुँदिहुन् मलाई सम्झेर’ का गायक रहेनन्

प्रकाशित मिति:

पुष १३ भक्तपुर । “पिँढीमा बसेर मेरै बाटो हेरेर
मेरी आमा रुँदिहुन् मलाई सम्झेर
परदेशी छोरा नआउँदा
चिठीपत्र नपाउँदा
मनमा विरह चल्दो हो आँशुले धोती भिज्दो हो”
यस्ता आमाको न्यानो माया र विरहको व्यथा गीतमार्फत पस्केर नेपालीको मन जित्न सफल चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेले आज आफ्नै आँगनमा देहत्याग गर्दा परिवारको मात्रै नभई भेला भएका अधिकांशको आँखा त्यसैगरी रसाए । आँगनमा लडिरहेको उहाँको देहलाई हेरेर आँशु पुछ्नेहरु “पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदिहुन् मलाई सम्झेर…” बोलको गीतको चर्चा गरिरहेका थिए । उनकी छोरी सम्झना भन्छिन्, “यो गीतमा जस्तै उहाँको प्यारो पिँढीमा झण्डै आधा जीवन बिताउनु भएका बुबाले आज त्यही पिँढी पनि छाडेर जानुभयो ।” विसं २०१२ साउन १ गते जन्मिई एक सयभन्दा बढी जीवन्तपरक गीत गाएर नेपाली गीतसङ्गीतका क्षेत्रमा निकै लोकप्रियता हासिल गरी हृदयाघातका कारण सात वर्षअघि पक्षाघात भई घरमै थलिएका थिए लामिछानेले ६३ वर्षका उमेरमा आज अपराह्न आफ्नै निवास चाँगुनारायण नगपालिका–७ स्थित चारघर चौतारामा देहत्याग गरेका थिए ।

‘घाँस काट्ने खुर्केर
आयो जोवन हुर्केर
कसलाई दिऊँ यो जोवन…।’

विरहका मात्रै होइन युवा प्रेमका गीत गाउने यी साधक घरको पिँढीबाट पुराना दिनहरू सम्झिएर टोलाइरहनुहुन्थ्यो । उहाँलाई भेट्न जानेहरुले विरहका गीतको सम्झना गराउँदा उहाँको आँखाबाट मात्रै होइन, भेट्न जानेहरुको मन पनि कट्क्क काट्थ्यो, आँशु तप्प चुहिन्थ्यो ।

गायिका कोमल वलीसँग लामिछानेले गाएको गीत “तिम्रो र मेरो मायाको डोरो बेरौँ कि फनफनी…” मात्रै नभई “फाटेको दौरा लाएर, खोले सिस्नो खाएर, हात र खुट्टा टेक्दैछु भारी बोक्दैछु… जस्ता उनले गाएको गाउँघरको यथार्थ जीवन बोकेका गीत पनि उत्तिकै चर्चामा आए । औषधोपचार गर्ने खर्चको जोहो नहुँदा एकाध संस्था र कलाकर्मीले दिएको थोरै सहयोगबाहेक राज्यबाट कुनै सहयोग नपाएका पीडित लामिछानेले आफ्नै जीवनको यथार्थलाई पनि गीतमार्फत ल्याउनुभयो ।

“पर्नु पर्‍यो पिर जेठा,
मलाई पर्‍यो पिर
एउटा थाप्ला दुईटा नाम्लो
ज्यानलाई पर्‍यो पिर…”

दुईटी श्रीमती ल्याउँदा कान्छीले दिएको दुःखलाई सम्झेर गाएको यो गीतलाई यथार्थपरक ढङ्गले गाउने गायक लामिछानेको पार्थिव शरीरलाई बिदाइ गर्नसमेत कान्छी श्रीमती र कान्छी श्रीमतीबाट जन्मिएका एक छोरी नआएको चर्चा वागेश्वरी–७ महादेव मन्दिर नजीकै रहेको घाटमा उहाँको देह जलिरहँदा चलेको थियो ।

टीकाराम र पद्मकुमारीको कान्छो सन्तानका रूपमा जन्मी सानैमा बुबा गुमाउँदाको पीडा र छोराले गीत गाएको हेर्ने आमाको चाहना पूरा गर्न रेडियो नेपालमा स्वर परीक्षण उत्तीर्ण गरेर २०३६ सालमै रेडियो नेपालमा पहिलो गीत रेकर्ड भयो, ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर…।’ सो गीत चर्चित भएसँगै ‘गाई त बाँध्ने पातलो दाम्लो…’, ‘पर्नु पर्‍यो पीर, जेठा मलाई पर्‍यो पीर…’, ‘भयो डामाडोल…’, ‘फाटेको दौरा लाएर खोले सिस्नु खाएर…’, ‘तिम्रो र मेरो मायाको डोरो, बेरौँ कि फनफनी कान्छी…’ लगायत गीत गाउँदै गीतियात्रामा उहाँ अगाडि बढ्नु भएको उहाँकी श्रीमती दुर्गादेवी बताउनुहुन्छ । श्रीमतीसँगै दुई छोरा र त्रछ छोरी रहेका लामिछानेको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न उहाँको भूकम्पले भत्काएर जीर्ण बनेको घरको पिँढीमा न कोही नेता पुगे, न कोही सरकारी प्रतिनिधि नै । घाटमा उहाँको देह जलिरहँदासम्म पनि कलाकर्मी र गायकगायिका श्रद्धाञ्जलि अर्पण गर्न नआएको देख्दा गाउँका मलामी भने एक स्रष्टाप्रति बेवास्ता भएको गुनासो गरिरहेका थिए । रासस