अमेरिकासँग नेपालको भिषा नीति परिवर्तन

प्रकाशित मिति:

पुष १४ बुटवल । अमेरिकासँग पर्यटकीय भिषा पारस्परिक गर्ने प्रस्ताव मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ। प्रविधि, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजिनक गर्दै नयाँ व्यवस्थाअनुसार पर्यटक भिषामा नेपाल आउने अमेरिकी नागरिकले बहुप्रवेशी पाँच वर्षे भिषा प्रदान गरिने जानकारी दिए। पाँच वर्षे भिषामा १८० दिन नेपाल बस्न पाइनेछ। बहुप्रवेशी भिषा लिँदा अमेरिकी र नेपाली पर्यटक दुवैले १६० अमेरिकी डलर बुझाउनु पर्नेछ। हालको व्यवस्थाअनुसार नेपालमा पर्यटकको रुपमा आउने अमेरिकी नागरिकले भिषा शुल्कबापत १५ दिनका लागि २५ डलर, ३० दिनका लागि ४० डलर, ९० दिनका लागि १०० डलर भिषा शुल्क तिर्ने व्यवस्था छ। ९० दिनभन्दा बढी बस्न चाहेमा दिनको २ डलर रुपैयाँ थप बुझाउनुपर्ने नियम छ। अमेरिकाले भने नेपालीलाई १ सय ६० डलरमा ५ वर्षको बहुप्रवेशी भिषा प्रदान गर्दै आएको छ। सरकारको नयाँ निर्णयअनुसार अब दुई देशबीच भिषा शुल्क बराबरी भएको छ।
मन्त्रिपरिषदले पारित गरेको व्यवस्था सन् २०१९ जनवरी १ देखि कार्यान्वयन हुनेछ। सरकारले नेपाली नागरिकले अध्ययन भिसा आवेदन गर्दा अमेरिकी दूतावासले लिने गरेको अतिरिक्त शुल्क अमेरिकी डलर २०० हटाउने सम्बन्धमा आवाश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। यो शुल्क हटाउन अमेरिकी दूतावास सकारात्मक रहेको सञ्चारमन्त्री बाँस्कोटाले जनाए।अमेरिकाले नेपालको भिषा शुल्क महँगो भएको भन्दै त्यसलाई पारिस्परिक गर्न माग गर्दै आएको थियो। २०७४ चैत १ मा गृहमन्त्री रामबहादुर थापासँगको भेटमा तत्कालीन अमेरिकी राजदूत अलाइना बी तेप्लिजले भिषा शुल्क समीक्षा गर्न आग्रह गरेकी थिइन्।

अमेरिकासँग विद्यार्थी, पत्रकार र कामदारका लागि यसअघि नै भिषा पारस्परिक नीति लागू भइसकेको छ। कार्तिकको दोस्रो साता अध्यागमन विभागले भिषासम्बन्धी व्यवस्था समीक्षा गर्दै गृह मन्त्रालयमार्फत प्रस्ताव मन्त्रिपरिषद पठाएको थियो। त्यही प्रस्ताव मन्त्रिपरिषदले अनुमोदन गरेको हो।