प्याब्सन, एन प्याब्सन र हिसान रुपन्देहीले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय रुपन्देही र शिक्षा विकास तथा समन्वय इकाइ मा ज्ञापन पत्र

प्रकाशित मिति:

पुनहरि बेल्बासे-भैरहवा, साउन २४ । प्याब्सन, एन प्याब्सन र हिसान रुपन्देहीले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय रुपन्देही र शिक्षा विकास तथा समन्वय इकाइ मा ज्ञापन पत्र बुझाएका छन् । बुधबार जिल्लाभरका संस्थागत विद्यालयहरुले एक्यैबद्धता जनाउँदै ज्ञापन पत्र बुझाएका हुन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा रुपन्देहीका संस्थागत विद्यालयहरुले आपत्ति जनाएका छन् । विधेयकमा राखिएका प्रावधानहरू निजी लगानीका संस्थागत विद्यालयहरू प्रति पूर्वाग्रही मात्र नभएर संविधान विपरित अव्यवहारिक र अन्यायपूर्ण गरी शैक्षिक गुठी दर्ता तथा सञ्चालन सम्बन्धमा स्पष्टता नभएको ले आन्दोलनमा उत्रनु परेको प्याब्सन रुपन्देही अध्यक्ष अनन्त राम शर्मा बताए ।

निजी लगानीका विद्यालयहरूको वृद्धि विकास, सुरक्षा, संरक्षण र सम्बद्धनमा राज्य नरहेमा विद्यालयहरू बन्द गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । प्रस्तावित विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फरफारक गरी शैक्षिक गुठीमा रूपान्तरित हुनु पर्ने लगायतका बाध्यात्मक प्रावधान समावेश गरिन संविधानको भावना विपरित अव्यवहारिक र दुराशययुक्त रहेकोले साउन २८ गते जिल्लाभरका विद्यालय बन्द गर्ने र थप आन्दोलनका कार्यक्रम गर्दै जाने प्याब्सन, हिसान र एनप्याब्सले जनाएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा जिल्ला भरका निजी विद्यालयका प्रिन्सिपल तथा सञ्चालकको प्रतिनिधित्व रहेको थियो ।