आयो खुशीको खबर :-आइतबारदेखि बुटवल र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने !

प्रकाशित मिति:

पुष १४ बुटवल । काठमाडौंबाट मात्र दिइदै आएको वैदेशिक रोजगारीको श्रम स्वीकृति अब बुटवल र जनकपुरबाट पनि लिन सकिने भएको छ । सरकारले आउँदो आइतबारदेखि अर्थात पुष १५ गते देखि प्रदेश २ को जनकपुर र प्रदेश ५ को बुटवलबाट पनि श्रम स्वीकृति दिने भएको हो । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन यी दुई स्थानबाट थालनी गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।त्यसका लागि मन्त्रालयले बुटवल र नकपुरमा रहेका प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरिएको बताइएको छ । आज जारी विज्ञप्तिमा भनिएको छ, हाललाई ती कार्यालयहरुबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ ।यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखिकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम गरिने छ ।
विस्तारै अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयहरुबाट पनि सेवा सञ्चालनको व्यवस्था मिलाउने मन्त्रालयले जानकारी दिएको छ ।