अक्सफोर्ड कलेजमा खाना महोत्सवसँगै रक्तदान कार्यक्रम सम्पन्न 

प्रकाशित मिति:

झविन्द्र देवकोटा /बुटवल  बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजमा खाना महोत्सव सम्पन्न भएको छ । कलेजमा अध्ययनरत बिएचएमको सबै सेमेस्टरसम्मका विद्यार्थीहरुले खाना महोत्सवसँगै लाइभ म्युजिक तथा रक्तदान कार्यक्रम गरेका हुन् । बिएचएमका विद्यार्थीहरुमा प्राविधिक, व्यवसायिक तथा उद्यमशिलतको विकासमा योगदान पुर्याउने उद्देश्य सहित आयोजित कार्यक्रमका विद्यार्थीहरुले विभिन्न खानाका परिकार सहितका दश स्टल राखेका थिए ।

उनीहरुले बटुक, मोमो, पास्ता, कर्न साल्ट पेपर, हासको छोइला, कथीरोल, वफेलो वीन्स लगायतका परिकारहरु बनाएर त्यसको ब्यवसायिक अभ्यास गरेको बिएचएम तथा बिआइएमका संयोजक ओमबहादुर कार्कीले जानकारी दिनुभयो । विद्यार्थीहरुमा प्राविधिक, व्यवसायिक तथा उद्यमशिलतको विकास गर्नका लागि खाना महोत्सव गरिएको क्याम्पस प्रमुख मनोज मरासिनीले बताउनुभयो । उहाँले बिबिएस, बिएड, बिआइएम र बिएचएम मा गरी १ हजार २६५ विद्यार्थीहरु अध्ययनरत रहेको उल्लेख गर्दै विद्यार्थीमा शैक्षिकसँगै समयसमयमा प्रयोगात्मक र सीपमुलक कार्यक्रमहरु पनि गर्दै आएको बताउनुभयो ।

कलेजले हरेक वर्ष उत्कृष्ट रिजल्ट ल्याउदै आएको बताउँदै बिएडतर्फ नेपाल प्रथम, बिबिएसतर्फ नेपाल द्वितीय, बिएचएम तेस्रो सेमेस्टरतर्फ नेपाल प्रथम, बिआइएम फस्ट सेमेस्टरमा लुम्बिनी प्रदेश प्रथम र बिआइएम पाँचौं सेमेस्टरमा लुम्बिनी प्रदेश प्रथम नजिता ल्याएको क्याम्पस प्रमुख मरासिनीले बताउनुभयो । उहाँले कलेजमा बिएचएम अध्ययनरत विद्यार्थी इन्टनसीपको लागि युरोपका विभिन्न मुलुक सहित थाइल्याण्ड, कतार, युएई लगातका देशमा पुगेको समेत बताउनुभयो । यसैबीच नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा बिएचएमका विद्यार्थीहरुले शुक्रबारनै गरेको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको क्याम्पस संचालक समितिका अध्यक्ष अजित खनालले जानकारी दिनुभयो ।