मुलुकी ऐन संशोधन गरिँदै

प्रकाशित मिति:

पुष, १४ काठमाडौं । भदौ १ गतेबाट लागू भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधनको प्रक्रियामा अघि बढेको छ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ प्रस्तुत गर्नुभएको थियो। उहाँले सांसदले उठाएका प्रश्नको जवाफ दिएपछि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो। कानुनमा समयसमापेक्ष परिमार्जन गर्न आवश्यक भएकाले विधेयक प्रस्तुत गरिएको मन्त्री ढकालले बताउनुभयो। सांसद कृष्णभक्त पोखरेलले संशोधन समयको माग भएको उल्लेख गर्नुभयो। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिसमेत रहनुभएका पोखरेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यो विधेयक पनि पूर्ण छ भन्ने होइन, छुटेका केही कानुनलाई पछि ल्याउन सकिन्छ।’
नेपालको संविधानको धारा ३०४ मा ‘वर्तमान कानुन लागू रहने’ व्यवस्था छ। यसको उपधारा (१) मा यो संविधानसँग बाझिएको कानुन यो संविधानबमोजिमको संघीय संसद्को पहिलो अधिवेशन बसेको मितिले एक वर्षपछि बाझिएको हदसम्म स्वतः अमान्य हुने कुरा उल्लेख छ।संसद्को पहिलो बैठक २०७४ साल फाल्गुन २१ गते बसेको थियो। अघिल्लो संविधानसभाले बनाई गत भदौबाट लागू भएको उक्त संहिता जारी गर्दा सरोकारवालासँग प्रशस्त छलफल नगरिएको आरोप लाग्दै आएको छ।पछिल्लो चरणमा ‘मुलुकी देवानी (संहिता) ऐन, २०७४, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ कार्यान्वयनमा आइसकेका छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले विभिन्न मन्त्रालयसँग भएको छलफलमा प्राप्त निष्कर्ष निकाली अर्को विधेयकसमेत तयार गर्न लागिएको बताउनुभयो।