काठमाडौं, भदौ २० – रिपोर्टर्स क्लबको कार्यक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्ति राजावादी भएको तथ्य खुलेको छ।घटनाका प्रत्यक्षदर्शीले जनाए अनुसार यादवलाई पछिबाट खुकुरी हानेपछि नुवाकोटका श्याम बहादुर सापकोटाले ‘राजतन्त्र जिन्दावाद’ भन्दै राजतन्त्रको पक्षमा नारा लगाएका थिए। उनले आफूलाई राजावादी अभियन्ताको रुपमा चिनाउँदै आएका थिए।रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा बोलेर बाहिरिने क्रममा कांग्रेस सहमहामन्त्री यादवमाथि बुधवार दिउँसो खुकरी प्रहार गरिएको थियो।
सापकोटा नुवाकोटको विदुर नगरपालिका तुप्चे निवासी भएको प्रहरीले जनाएको छ। उनले नियोजित रुपमा खुकुरी झोलामै बोकेर लगेको घटना अनुसन्धान मुचुल्काबाट देखिएको छ। धारिलो हतियार खुकुरी प्रहारबाट यादवको टाउकोमा गहिरो चोट लागेको छ। यादवको ट्रमा सेण्टरमा उपचार भइरहेको छ। आक्रमणकारी सापकोटालाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको छ।रिपोर्टर्स क्लवमा बोलेपछि यादव राप्रपाका महामन्त्री डा।धवलशमशेर राणासँग बाहिरिएर गाडी चढ्नेक्रममा पछिबाट आक्रमण भएको थियो। क्लबबाट यादवसँगै बाहिरिएका सपकोटाले झोलाबाट खुकुरी निकालेर प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।