गल्याङमा नगरस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

गल्याङ,  भदौ ।स्याङ्जाको गल्याङमा नगरस्तरीय तीज गीत प्रतियोगिता गरिएको छ । गल्याङ नगरपालिकाको आयोजनामा ‘गल्याङको विकासमा नारी सहभागिता’ शीर्षकमा तीज गीत प्रतियोगिता गरिएको हो । कूल ३३ समूहको सहभागिता रहेको उक्त प्रतियोगितामा राधाकृष्ण आमा समूह गल्याङ १ प्रथम, जनकल्याण आमा समूह गल्याङ ७ द्वितीय, दिमिक कृषि आमा समूह गल्याङ ११ तृतीय र मानव समानता आमा समूह गल्याङ ३ सात्वना भएका हुन् ।

प्रतियोगिताका विजेताहरुलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो । तीज गीत प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले आफ्नो कार्यकालमा गण्डकी प्रदेशमा डोकोमा खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य गर्ने दावी गर्नुभएको छ । उहाँले आफ्नो मन्त्रालयले खानेपानीको पहुँच प्रदेशका सबै नागरिकको घारामा पु¥याउने प्रतिबद्धता जनाउनुभयो । अहिले पनि धेरै ठाउँमा डोकोमा पानी बोक्नुपर्ने बाध्यता रहेको भन्दै यसको अन्त्य आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभएको हो । मन्त्री तिवारीले महिलाहरु घरको चुलोचौकोमामात्रै सिमित हुन नहुने भन्दै विकासका हरेक क्रियाकलापमा सहभागी हुन पनि जोड दिनुभयो । संघ, प्रदेश र स्थानीय सरकार एकढिक्का भएर विकासका गतिविधिमा सहभागी हुनुपर्ने मन्त्री तिवारीको भनाई छ ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद महेश भट्टराईले जनताको आवश्यकतामा आँफु जहिले पनि क्रियाशिल हुने बताउनुभयो । उहाँले जनताले आँफुलाई मन र मत दिएको भन्दै अब विकासका कामहरुमा पनि खबरदारी गर्नुपर्ने बताउनुभयो ।गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले कार्यक्रममा प्रस्तुत भएका गीतहरुले आफुलाई उर्जा मिलेको बताउनुभयो । उहाँले गल्याङको विकासका लागि आँफू निरन्तर लागिरहेको भन्दै निरन्तर सुझाव र सल्लाह दिन आह्वान गर्नुभयो ।कार्यक्रममा उपप्रमुख हेमा न्यौपानेले यस प्रतियोगिताले महिला दिदीबहिनीहरुलाई एकापसमा चिनाजान बढाउनुकासाथै आन्तरिक प्रतिभाहरु प्रष्फुटन गर्ने अवसर भएको बताउनुभयो । उहाँले महिला दिदीबहिनीहरुले गीत संगीतका माध्यमबाट उठाउनुभएका कुराहरुलाई पालिकाले सल्लाह, सुझावकोरुपमा ग्रहण गरी कार्यान्वयनमा अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो ।