बुटवल-भदौ । नेपाल औषधी ब्यबसायी संघ रुपन्देहीले पांचौ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । मुलुक संघीय संरचनामा गएसंगै २०७६ भदौ २८ गते सुरज भट्टराईको नेतृत्वमा संघ स्थापना भएको थियो ।स्थापना दिवसका अवसरमा संघले रक्त संचार सेवा केन्द्र बुटवललाई फाइल दराज प्रदान गरेको छ भने भिसिटिएस सम्बन्धी अन्तरक्रिया, लेखा तालिम र थोक व्यवसायी भेला सम्पन्न गरेको हो ।
सो अवसरमा व्यवसायीहरुले औषधिजन्य फोहोर व्यवस्थापन, दोहोरो करको अन्त्य र व्यवसाय दर्तामा उपमहानगरले लिंंदै आएको करको दर बृद्धि नगरी पुरानै कायम गर्न उपमहानगरसंग माग गरेका छन् । यस्तै अनुगमन गर्दा औषधिबारे बिज्ञ र संघका प्रतिनिधिलाई अनिवार्य गर्न व्यवसायीले माग गरे ।
कोभिड महामारीपछि थोक व्यवसायमा डेट एक्सपायर औषधि फिर्ताको दर १० देखि १५ प्रतिशतले बढेको, स्वास्थ्य वीमाका कारण निजी अस्पताल र क्लिनिकहरुमा ५० प्रतिशत विरामी घटेका कारण र आर्थिक मन्दीले व्यवसायीहरु विस्थापित हुने क्रम बढेको व्यवसायीको गुनासो छ । एक वर्षमा बुटवलमा १८ जना व्यवसायी विस्थापित भएका र दर्जनौ पसल विक्रिमा रहेको बताए ।कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले औषधीको व्यवसाय मानव स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको बिषय भएकाले सबै व्यवसायी जिम्मेवार र इमान्दार हुनुपर्ने बताइन् । उनले दर्ता गरेर मात्र ब्यबसाय संचालन गर्न सुझाव दिंदै अनुगमनमा विज्ञलाई सहभागी गराउने र करको दर व्यावसायीका प्रतिनिधिको सुझावका आधारमा तय हुने बताइन् ।उपप्रमुख अर्यालले संघको सचिवालयका लागि जग्गा ब्यबस्थापन र भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउंदै व्यावसाय स्तरोन्नति र प्रशिक्षण तालिमका लागि उपमहानगरपालिकाले ५ लाख बजेट छुट्टाएको जानकारी दिइन् ।
कार्यक्रममा नेपाल औषधि व्यवसायी महासंघका पुर्व अध्यक्ष बाबुराम भट्टराई,नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल,लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली लगायतले व्यवसायी हितकोष स्थापना लगायत रचनात्मक कामहरु गरेकाले रुपन्देही शाखा स्थापना कालदेखि नै देशभरमै उत्कृष्ट शाखा बनेको भन्दै सराहना गरे ।संस्थापक अध्यक्ष सुरज भट्टराईले ३९ महिने आफ्नो कार्यकालमा गर्न नसकेका कामहरु आगामी दिनमा संस्थापक अध्यक्षका हिसाबले पुरा गर्ने प्रतिबद्धता जनाए । संघका अध्यक्ष खड्गबहादुर बस्नेतले भिसिटिएस प्रणाली अब्यबहारिक भएकाले स्थानीय स्तरमा ढुवानी गर्दा व्यवसायीहरु जरिवानाको मारमा परेका बताए ।औषधी ढुवानी गर्दा कन्साइनमेन्ट आईडी भए पुग्नेमा प्रहरी प्रशासनलाईृ यसबारे जानकारी नहुंदा प्रिन्ट पेपर चाहियो भनेर व्यवसायीलाई दुख दिने र जरिवाना तिराउने काम बन्द गर्न अध्यक्ष स्नेतले माग गरे । उद्योगबाट सिधै औषधी विक्रि हुंदा व्यवसायी मारमा परेको पनि उनले बताए । अध्यक्ष बस्नेतले विगतमा उत्कृष्ट शाखा बनेर हासिल गरेको गरिमा र उचाई कायम राख्न आफूले अग्रजहरुको राय सुझावका आधारमा अघि बढ्ने बताए ।
कार्यक्रममा सिए प्रमोद पन्थीले लेखा सम्बन्धी र राजस्व अनुसन्धान कार्यालय रुपन्देहीका सूचना प्रमुख दीपेन्द्र श्रेष्ठले भिसिटिएसबारे व्यवसायीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा संघका उपाध्यक्ष पुरुषोत्तम भट्टराई, महासचिव नारायण थापा, कार्यक्रम संयोजक उमेश्चन्द्र आचार्यले व्यवसायीका हक हितका पक्षमा र समस्या समाधानका लागि संघले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।कार्यक्रममा संस्थापक अध्यक्ष सुरज भट्टराई र नेपाल औषधि व्यवसायी महासंघको हालै सम्पन्न महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित रामप्रसाद खरेललाई सम्मान गरिएको छ ।