पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा १९ जना विद्यार्थीलाई जनही १० हजारका दरले छात्रबृत्ति प्रदान
बुटवल ३० भदौ-पश्चिमाञ्चल यातायात व्यवसायी समिति सामुदायीक विद्यालयमा अध्ययनरत १९ जना विद्यार्थीलाई जनही १० हजारका दरले छात्रबृत्ति प्रदान गरेको छ । समितिका बुटवलका पूर्व अध्यक्ष अर्जुन रानाभाट कोषाध्यक्ष लालबहादुर श्रेष्ठ र पूर्व अध्यक्ष गणेश पन्थले आफूले पाउने पारिश्रमीकलाई सामाजिक काममा लगाउने गरि स्थापना गरेको कल्याणकारी कोषवाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । विभिन्न सामुदायीक विद्यालयका १९ जना जेहेन्दार विद्यार्थीलाई १० हजारका दरले छात्रवृत्ति वितरण गरिएको कार्यक्रम संयोजक तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्कीले बताउनु भयो ।रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखांची, नवलपुर र स्याङ्जा केही सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । समितिले स्थापना गरेको अक्ष्यकोषको व्याजबाट सामुदायीक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
सोही कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले सानो सहयोगले पनि विद्यार्थीलाई पढ्नका लागि हौसला बढ्ने हुंदा आफूले पाउने पारिश्रमीकलाई अक्ष्यकोष बनाईदिएको र यसलाई बढाउर्दै निरन्तरता दिनुपर्ने बताउनु भयो । यातायात व्यवसायीले राज्यलाई ठूलो सहयोग गर्दै आएको बताउंदै राज्यले यातायात व्यवसायीका समस्यामा गम्भिर हुन नसकेको गुनासो गर्नु भयो । समितिका पूर्व अध्यक्ष तथा नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले रक्तदान र छात्रवृत्ति कार्यक्रमलाई निरनतरता दिनुपर्ने बताउंदै छात्रवृत्तिको रकम शिक्षामा नै प्रयोग गर्न आग्रह गरेका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष यमप्रसाद पाण्डेले छात्रवृत्ति र रक्तदान कार्यक्रमलाई थप व्यवस्थित गरी निरन्तरता दिने प्रतिवद्वता जनाउंदै यातायात व्यवसायीका समस्या सरकारले सम्बोधन नर्गदा व्यवसायी समस्यामा परेको भन्दै चिन्ता व्यक्त गर्नु भयो ।
कार्यक्रममा समितिका पूर्व अध्यक्ष गुप्तबहादुर केसी, पूर्व महासचिव तथा ढुवानी व्यवसायी समितिका अध्यक्ष जीतबहादुर भाट क्षेत्री, समितिका उपाध्यक्ष गणेश घिमिरे, दुर्वादत्त माध्यमिक विद्यालय शंकरनगरका प्रअ चण्डीप्रसाद पाण्डे लगायतले समितिले शैक्षिक क्षेत्रमा टेवापुराउने गरी अक्ष्यकोष स्थापना गरेर विद्यार्थीलाई हौसला प्रदान गरेकोमा सराहना व्यक्त गर्नु भयो । समितिका अध्यक्ष यमप्रसाद पाण्डेयको अध्यक्षता र महासचिव हरिप्रसाद कंडेलको सञ्चालन र समितिका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्कीको स्वागतमा कार्यक्रम भएको थियो । त्यस्तै समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको महासचिव हरि प्रसाद कंडेलले बताउनु भयो ।सोही समारोहमा लु २ ख ११९६ का चालकको दूर्घटनामा परी मृत्यु भएकोमा उहांको परिवारलाई समितिले गरिदिएको विमावाट ३ लाख रुपैयां प्रदान गरिएको थियो ।