सहकारीले कोषको दुरुपयोग गरेः महाप्रवन्धक थामसुहाङ्ग

प्रकाशित मिति:

काठमाडौं, राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थामसुहाङ्गले वित्तीय संकटका विचमा पनि समुदाय र सदस्यमा केन्द्रित संस्थाहरुमा तरलता वृद्धि भएको बताएकी छिन् । सुशासन र स्वनियमनमा रहेर सञ्चालनमा भएका संस्थाहरुले सदस्यको विश्वास जितेकाले वित्तीय संकटका बिचमा पनि तरलता वृद्धि भएको उनको भनाई छ । राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा ‘सहकारीको सुशासन र स्वनियमनः प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले निश्चित व्यक्तिको पकडमा रहेका संस्थाहरुमा समस्या आएको जनाईन । विशेषत ठूला संस्थाहरुमा एकल निर्णय हाबी भएको र सदस्यलाई व्यवास्ता गरी आफू अनुकुल लगानी गर्दा समस्या आएको उनको बुझाई छ । उनले थपिन, ‘देशभर कार्यक्षत्र लिई सदस्यबाट संकलित पूँजीलाई घर जग्गा र नातेदारहरुका नाममा कम्पनी खडा गरी लगानी गर्दा अहिले समस्या आएको हो’ ।

सहकारीले लाभांश वितरणमा अस्वस्थ प्रतिस्प्रर्धा गर्ने भन्दा पनि सहकारी ऐनले व्यवस्था गरेका शिक्षा, सामाजिक र संरक्षित पूँजी फिर्ता कोषलाई प्रयोग गरेर बढी सेवा दिनुपर्नेमा उनको जोड छ । सस्थाहरुले कोषहरुलाई प्रयोग नगरेको भन्दै उनले कोषको रकम उद्देश्य अनुसार प्रयोग गर्न सुझाईन । उनले थपिन, ‘संस्थाहरुले कोषलाई उद्दश्यले अनुसार खर्च गरेका छैनन र आर्थिक वर्षको अन्त्यमा जगेडा कोषमा सार्ने परिपाटी छ, यो गलत हो ।सहकारी निश्चित उद्देश्य प्राप्तिका लागि खोलिने संस्था भएकाले सोहि अनुसार काम गर्नपर्नेमा उनको जिकिर छ । सहकारी संगठित संरचनामा सञ्चालन हुने र सञ्चालक समिति, लेखा समिति तथा व्यवस्थापन पक्ष रहन्छ । एकलेअर्को संरचनालाई नियन्त्रण गर्न सके सहकारीमा समस्या नै नआउने उनको दाबी छ ।संरचनामा काम गर्न एक अर्काबिच हार्दिकताको सम्बन्ध स्थापित गर्न सके सहकारी क्षेत्रले उचाई लिनेछ । सहकारी संस्थाहरुले नियमनकारी निकायहरुले जारी गरेको ऐन नियम र निर्दशनका साथै संघ महासंघहरुले जारी निर्देशन र मापदण्डलाई समेत परिपालना गरे समस्या नआउने उनको बुझाई छ ।अहिलेपनि सहकारीको संख्या वृद्धि भैरहेको र स्थानिसय तहले सहकारी दर्ता गरीरहेको भन्दै त्यसले सहकारीमा गुणात्मकता नआउने प्रष्ट पारिन । महासंघले भिजन २०¬–३० तय गरेको र हाल रहेका ३१ हजार सहकारीलाई एकिकरण मार्फत १० हजारमा ल्याउने योजना बनाएको उनले जानकारी दिईन ।
प्रारम्भिक सहकारी संस्थाले संघलाई र संघहरुले महासंघलाई कार्य प्रतिवेदन बुझाउने परिपाटी विकास गर्न सके सहकारीमा अहिलेको जस्तो समस्या नआउने उनको बुझाई छ । प्रारम्भिक संस्थाले माथिल्लो निकायमा अनिर्वाय आवद्धताको व्यवस्था हुन सके संस्थाहरु कुन अवस्थामा चलेका छन भन्ने कुराको जानकारी लिन सजिलो हुने उनले बताईन ।

वाह्य लेखा परिक्षकले औल्याएको विषय कार्यान्वयन नहुनु र सदस्य माझमा नलैजानु नै सहकारीको मूख्य समस्या भएको बताईन । प्रविधिक प्रतिवेदनमा उठाईएको कुराको कार्यान्वयको सुनिश्चितता नभएसम्म सहकारीमा समस्या रहिरहने उनले बताईन । साधारण सभामा ५१ प्रतिशतको उपस्थिती प्रावधान छ । तर त्यो मात्रै प्रभावकारी नभएको भन्दै उनले १० प्रतिशत सदस्यले व्यापक छलफल गर्न सके सञ्चालकको मनोमानी रोकिने उनको दाबी छ । नियामक निकायले अनुगमन गरी संस्था सुरक्षित हुन्छ भन्नेमा आफू आशवादी नरहेको भन्दै संस्थाहरुलाई स्वनियमनमा रहन आग्रह गरिन ।कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व सहकारी रजिष्ट्रार केशव प्रसाद रेग्मीले सहकारीमा वाह्य नियमनबाट भन्दापनि आन्तरिक रुपमा सुशासन कायम गर्न सके समस्या नआउने बताए ।सहकारी दिगो विकासका लागि मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सदस्य लक्षित क्रियाकलाप गरे सहकारी दिगो सञ्चालन हुने उनको भनाई छ । यसकालागि लेखा र शिक्षा समितिको भुमिका उत्तिकै महत्वपूर्ण हुने उनको भनाई छ । कार्यक्रमको अध्यक्षता राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले गरेका थिए ।