देशको अर्थतन्त्र उकास्न सहकारी संस्थाहरूको अहम् भूमिका छ : सन्तोषकुमार पाण्डे

प्रकाशित मिति:

नेपाल सरकार, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले देशको अर्थतन्त्र उकास्न सहकारी संस्थाहरूको अहम् भूमिका रहने बताउनुभएको छ । साथै, राष्ट्रिय अर्थतन्त्रमा योगदान दिनका लागि विशेष अभियान सञ्चालन गर्ने सहकारीलाई प्रदेश सरकारले प्रोत्साहित गर्ने बताउनुभएको छ । रूपन्देहीको मणिग्राममा कामना बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूका लागि आयोजना गरेको तरकारीको बीऊ बिजन वितरण तथा चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री पाण्डेले त्यस्तो बताउनुभएको हो । कामना सहकारीले वितरण गर्ने हजारौं थान बीऊका प्याकेटले हजारौं किलो आयातित विषादीयुक्त तरकारी विस्थापित गर्दै स्वदेशी पूँजी र जैविक जीवनमा योगदान दिने भन्दै मन्त्री पाण्डेले प्रशंसा गर्नुभएको थियो । साथै, शेयर सदस्यहरूमा कृषिप्रतिको महत्व उजागर गर्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय सहकारी विकाश बोर्डका कार्यकारी संचालक संदिप सापकोटाले राष्ट्रिय अर्थतन्त्रका लागि पीँधैदेखि नतीजामुखी अभियान चलाउने सहकारीलाई सरकारले विशेष ग्राह्यता दिन अनुरोध गर्नुभयो ।कार्यक्रममा बोल्दै आयोजक संस्था कामना बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवम् प्रबन्ध निर्देशक यादव कोइरालाले मातृभूमिको आवश्यकता बमोजिम विकाशको जग बसाल्न भनेरै आफूहरूले सहकारीबाट निरन्तर सामाजिक उत्तरदायित्व, शेयर सदस्य कल्याण तथा लोककल्याणका काम गर्दै आएको बताउनुभयो ।बहुउद्देश्यीय सहकारी संघ रूपन्देहीका अध्यक्ष रमणी डुम्रेले जनआधार सहित समाज विकाशका लागि बहुउद्देश्यीय सहकारी एकाकार भई सर्वाङ्गीण विकाशका लागि आफूहरूले पहल थालेको बताउनुभयो ।

सामाजिक अभियन्ता एवम् प्रशिक्षक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ रूपन्देहीका कोषाध्यक्ष कमला थापा, जन एकिकृत बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष जगन्नाथ न्यौपाने, स्वर्गद्वारी टोल विकाश संस्थाका अध्यक्ष सूरज पाठक लगायतले बोल्दै सहकारीता नै जनताको सारथी भएको उल्लेख गर्नुभएको थियो ।सो अवसरमा प्रमुख अतिथिका हातबाट सहकारीमा आवद्ध एक हजार जना सदस्यका लागि “कृषि प्रवद्र्धनमा हाम्रो प्रयास” भन्ने मूल नारासहित साग, मूला, सिमी लगायत तरकारीका प्याकेटहरू चाडपर्वको शुभकामना स्वरूप निःशुल्क वितरणको शुभारम्भ गरिएको थियो ।