नाइजेरियाका पूर्वराष्ट्रपतिको निधन

प्रकाशित मिति:

अबुजा– नाइजेरियाका पूर्व राष्ट्रपति शेहु शागरीको ९३ वर्षको उमेरमा निधन भएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनी सन् १९७९ देखि १९८३ सम्म नाइजेरियाको राष्ट्रपति थिए। नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले एक वक्तव्य प्रकाशन गरी पूर्व राष्ट्रपतिको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।सेनाका पूर्व जनरल एवं हालका राष्ट्रपति बुहारीले सन् १९८३ मा शागरीको सरकार विरुद्ध सत्ताविद्रोह गरेका थिए । राष्ट्रपति बुहारीले शासन सत्तामा नरहे पनि शागरीप्रति आम जनताले उच्च सम्मान व्यक्त गरेको बताउका छन् ।

शागरीको राष्ट्रपतित्वकालमा तेलको मूल्यमा सन् १९८० को प्रारम्भमै भारी गिरावट आएका कारण मुलुकको आर्थिक स्थिति कमजोर बनेको थियो । साथै, अव्यवस्था चरम सीमामा पुगेको तथा राष्ट्रको ऋण बढेको थियो । मुलुकको आर्थिक परिस्थिति कमजोर भएपनि उनको दलले सन् १९८३ को चुनावमा अभूतपूर्व विजय हासिल गरेको थियो । तर, विपक्षी दलहरुले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएका थिए । त्यही वर्षको डिसेम्बर ३१ मा बुहारीले शागरीको सरकार विरुद्ध सत्ता विद्रोह गरेका थिए ।