पर्बत । पर्बत जिल्लाको पैयुँ गाउँपालिका हुबासस्थित बन्द रहेको मिसन अस्पताल पुनः सञ्चालन गर्न तिब्र रुपमा तयारी भैरहेको छ ।बिगत २२ बर्ष देखि बन्द रहेको यो अस्पताल पुनः सञ्चालनको बाताबरण तयार गर्न काठमाडौंस्थित देउराली फाउण्डेशनले काम गरिरहेको छ । यसै सिल सिलामा स्थानीय सरोकारवाला व्यक्ति संघ संस्था र स्थानीय सरकार संग समेत गरिएको पटक पटकको छलफल पछि देउराली फाउण्डेशनले प्रारम्भिक काम सुरु गरेको हो । सर्वप्रथम फाउण्डेशनको सचिबालय बैठकले अस्पतालको जग्गा , भवन र अन्य भौतिक सम्पत्तीको सुरक्षाकालागि अस्पताल परिसरमा तारजाली लगाई गेट निर्माण गर्नु पर्ने ठहर गरे संगै परिसरमा तार जाली लगाएर कम्पाउण्डिङ्ग गरि गेट हाल्ने र सेफ्टी ट्यांकी निर्माण गर्ने काम सम्पन्न भएको छ । यसै गरि दोस्रो चरण अन्तर्गतको भवनहरुको मर्मत संहार , रंग रोगन , विद्युतीकरण र प्लम्बिङ्ग सम्बन्धि कामहरु पनि केहि दिनमै सुरु हुन लागेको फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले जानकारी दिनु भयो ।
अहिले भएका कामहरुमा अमेरिकाको क्यालिफोर्निया राज्यमा दर्ता भई संसारभरका नन रेसिडेण्ट नेपालीहरुको हितमा कामगरिरहेको परोपकारी संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशनले आर्थिक सहयोग गरेको छ ।अमेरिका बाट आएका विशेषज्ञ डाक्टरहरुको समुहले स्थानीय साझेदारहरु संगको सहकार्यमा २०५० सालमा स्थापना भएको मिसन अस्पताल ८ वर्ष मात्र संचालन भई २०५८ साल देखि बन्द छ । इतिहास बोकेको र स्थानीय जनतामाझ लोकप्रिय अस्पताल फेरी सञ्चालन हुन लागेको खबरले हुबास र आसपासका क्षेत्रमा खुसियाली छाएको छ। यसै गरि एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशनका अध्यक्ष माधव मरासिनीले बन्द रहेको अस्पताल पुनः सञ्चालनको प्रारम्भिक चरणमा जोडिएर परोपकारी काम गर्न पाउँदा खुसि लागेको प्रतिक्रिया दिनु भयो ।