उपत्यकामा प्रहरीको दोहोरो चेकजाँच

प्रकाशित मिति:

उपत्यकामा नेपाल प्रहरीको दोहोरो चेकिङ प्रणाली सुरु भएको छ। उपत्यकाका तीनवटै प्रहरी परिसरको चेकिङ प्रणालीको अनुगमन गर्ने नाममा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले विभिन्न स्थानमा आफ्नो युनिट खटाएर चेकजाँच गर्ने गरेको छ।महानगरीय प्रहरी कार्यालयमातहतका तीनवटै परिसरले प्रत्येक दिन आफ्ना युनिटमार्फत चेकजाँच गरिरहेका हुन्छन्। काठमाडौं, ललितपुर र भक्तपुरमा गरी परिसरका करिब एक हजार चार सय प्रहरीलाई चेकिङका लागि खटाइएको हुन्छ। उनीहरूको अनुगमनका लागि महानगरीय प्रहरी कार्यालय थप चेकजाँच गरिरहेको हुन्छ। काठमाडौ परिसरको मात्रै प्रत्येक दिन ४२ स्थानमा परिसरको युनिटले चेकिङ गरिरहेको हुन्छ तर त्यसलाई अविश्वास गर्दै आयुक्तको कार्यालयले पनि २० स्थानमा आफ्नो युनिट खटाएर चेकजाँच गरिरहेको हुन्छ।

आयुक्त कार्यालयकी प्रवक्ता एसएसपी पूजा सिंहले काठमाडौंमा मात्रै आयुक्त कार्यालयका २० युनिटले सिआरबीसहित थप चेकजाँच गरिरहेको बताइन्। ‘परिसरहरूले गर्ने काम गरिरहेका छन्, हाम्रो कार्यालयबाट पनि २० युनिटले रातको समयमा चेकजाँच गरिरहेका हुन्छन्,’ उनले भनिन्, ‘परिसरलाई विश्वास नगरेर भन्दा पनि आयुक्त कार्यालयको यो नियमित कार्य हो।’ प्रवक्ता सिंहका अनुसार काठमाडौंलाई शान्त र सुरक्षित बनाउन परिसरको भन्दा छुट्टै चेकिङ आवश्यक रहेको बताइन्। काठमाडौंको सुरक्षा प्रणालीलाई अझ व्यवस्थित बनाउन देखिएका कमजोरीहरूलाई सच्याउन अनुगमन गरिएको उनले बताइन्।महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालका अनुसार ललितपुरका २० स्थानमा चेकिङ हुने गरेको छ। त्यसका लागि करिब एक सय २० जनशक्ति परिचालन हुने गरेको छ। सो युनिटलाई पनि छुट्टै अनुगमन गर्न ललितपुर परिसरकै डिएसपीको टोली खटिएको हुन्छ। ‘हरेक रात हाम्रा २० युनिट चेकिङका लागि परिचालित हुन्छ, त्यसलाई अनुगमन गर्न डिएसपीको टोली निस्कन्छ,’ एसपी खनालले भने।

अहिले काठमाडौंका विभिन्न स्थानमा चेकिङ सुरु हुँदा भक्तपुर, ललितपुरमा पनि सोही प्रकृतिको चेकिङ हुने गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले प्रत्येक रात पाँच सय प्रहरी चेकिङमा खटिने र त्यसको अनुगमनका लागि डिएसपीको कमान्डमा छुट्टै टोली खटिने जानकारी दिए। ‘चेकिङमा खटिएका टोलीहरूले कहाँ कसरी चेकजाँच गरिरहेका छन् भनी अनुगमनका लागि डिएसपीकै टोलीले अनुगमन गरिरहेको हुन्छ,’ डिएसपी बोगटीले भने। उनका अनुसार प्रत्येक वृत्तबाट दुईवटा टोली अनिवार्य रूपमा खटिएका हुन्छन्। त्यसमा आयुक्त कार्यालयको टोली पनि खटिएको हुन्छ। भक्तपुरमा पनि परिसरको टोलीलाई अनुगमन गर्न आयुक्ता कार्यालयको टोली पुग्ने गरेको छ। भक्तपुरका हरेक युनिटले राजमार्ग र भित्री सडकहरूमा चेकजाँच गरिरहेका बेला आयुक्त कार्यालयको टोली जाने गरेको छ।