राहत लिएर सांसद घिमिरे र गाउँपालिका अध्यक्ष पौडेल जाजरकोट

प्रकाशित मिति:

जाजरकोट  । रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल भूकम्प पीडितहरुको लागि राहत लिएर जाजरकोट पुग्नु भएको छ । कार्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामिडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पबाट पीडितहरुको लागि राहत सामग्री लिएर सांसद घिमिरे र गाउँपालिका अध्यक्ष पौडेल भूकम्प प्रभावित क्षेत्र पुग्नु भएको हो । भूकम्प भएको भोलिपल्ट नैं त्यसतर्फ प्रस्थान गर्नुभएका सांसद घिमिरे र गाउँपालिका अध्यक्ष पौडेलले कार्तिक १९ गते भूकम्प पीडितको लागि राहतको लागि चामल, चिउरा, खानेतेल, चाउचाउ, सोयाबिन, दालमोट लगायतका विभिन्न खाद्य सामग्री प्रदान गर्नुभएको छ । एकद्धार प्रणालीमार्फत् राहत प्रदान गर्ने नीतिअनुसार जाजरकोट जिल्ला प्रशासन कार्यालयमा राहत सामग्री हस्तान्तरण गरिएको सांसद घिमिरेले जानकारी दिनुभयो ।

सांसद घिमिरेले आफ्नो तर्फबाट र गाउँपालिका अध्यक्ष पौडेलले पालिकाको तर्फबाट भूकम्प पीडितलाई राहत प्रदान गर्नुभएको हो । गाउँपालिका अध्यक्ष पौडेलले रुकुम पश्चिमका भूकम्प पीडितलाई समेत राहत प्रदान गरिने जानकारी दिनुभयो । पीडितलाई तत्काल खाद्य सहितका राहत सामग्री आवश्यक पर्ने भएकोले भूकम्प गएकैं भोलिपल्ट भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेर राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।राहतको घोषणा अन्य पालिकाहरुले गरे पनि स्वयंम् राहत लिएर गाउँपालिका अध्यक्ष पौडेल र आफ्नो व्यक्तिगत तर्फबाट पीडितलाई राहत दिन सांसद घिमिरे भूकम्प प्रभावित क्षेत्रमा पुग्नु भएको हो । त्यसक्रममा सांसद घिमिरे र गाउँपालिका अध्यक्षले भूकम्पबाट घाइते भएकोहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिनुभएको छ । जाजरकोट जिल्ला अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उहाँहरुले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो । यस्तै उहाँहरुले सरकारी अधिकारी र स्थानीय जनप्रतिनिधिहरुसँग भूकम्पबाट भएको क्षति, उद्धार र राहत वितरणको बारेमा जानकारी समेत लिनुभएको छ । साथैं उहाँहरुले भूकम्प प्रभावित क्षेत्रहरुको समेत स्थलगत अवलोकन गर्नुभएको छ । स्थलगत अवलोकनपछि सांसद घिमिरेले अब भूकम्प पीडितलाई राहत र पुननिर्माणको आवश्यकता बढी रहेको महशुस भएको बताउनुभयो । घाइतेहरुको उपचारमा खास समस्या रहेको नपाइएको बताउँदै सांसद घिमिरेले अब सबैको ध्यान भूकम्प पीडितको पुनःस्थापनामा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । राहत वितरण प्रणाली एकद्धार प्रणालीबाट गरिनु सकारात्मक रहेको उहाँको भनाइ छ ।