बर्दघाट नगरपालिकाले हचुवामा जग्गा बर्गीकरण

प्रकाशित मिति:

प्रकाश न्यौपाने
कार्तिक २६ गते

नवलपरासी । बर्दघाट नगरपालिकाले हचुवाको भरमा जग्गा वर्गीकरण गरेको नगरबासीले आरोप लगाएका छन ।


शुक्रबार नगरले आयोजना गरेको आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने अधिकाश नगरबासीले नगरले छिटो जग्गा वर्गीकरण गर्ने नाममा हचुवामा जग्गा वर्गीकरण गरेको बताएका हुन । बर्दघाट वडा नम्बर १२ का दिपप्रकाश लोहनीले जग्गा वर्गीकरणमा कुनै आधार नरहेको बताउनु भयो । ” हामीले हाम्रो खेत जोत्नेका लागि निकालेको बाटोलाई हेरर नगरले हाम्रो खेतका कित्ताहरु आवसीयमा राखेर वर्गीकरण गर्‍यो । नगर कर असुल्ने तवरले जग्गा वर्गीकरण गर्‍यो जसमा कुनै आधार छैन “उहाले भन्नुभयो ।


जहदा कलष्टर अन्तर्गत वडा नं. १२ र १३ का नगरवासीहरुलाई वडा नं. १३ को सभा हलमा भेला गराएर आयोजना गरीएको कार्यक्रममा नगरवासीहरुले निर्णय गर्दा दुरगामी प्रभाव हेरर निर्णय गर्ने समेत सुझाव दिएका छन । कार्यक्रममा सेवा ग्राहीहरु सबिन पाठक, पुर्ण चन्द्र तिमिल्सिना, मान बहादुर मल्ल, तोलाकान्त चापागाईं, बिस्वराज भट्टराईलगायतले प्रश्न राख्दै डुवानको समस्यासंगै , पुल निर्माणको समस्या, बाटोको स्तर उन्नती नभएको , मल, बिउ र सिंचाईको उचित ब्यवस्था गर्न नगरले खासै पहल नगरेको, फोहोर व्यवस्थापनको समस्या, जग्गा बर्गीकरणका नाममा नगरवासीलाई दुःख दिईएको, र बिजुली, नेट तथा केबुलका तारहरु ब्यवस्थित नभएका कारण दुर्घटनाको संभावना बढेको प्रति बर्दघाट नगरपालिकाले चाँसो दिएर काम नगरेको, नगरले गर्ने निर्णय हचुवामा हुने गरेको भन्दै, सेवालाई सहजता हुने गरिका नगरेको जस्ता गुनासो नगरबासीले लगाएका छन । त्यसैगरी नगरले स्थानिय स्रोत र साधनहरुको प्रयोग तर्फ ध्यान दिनु पर्ने र स्थानीय उत्पादनलाई बढी फोकस गर्नु पर्नेमा जोड दिनु पर्ने बताउनु भएको छ ।


बर्दघाट नगरपालिकाको आयोजना र बर्दघाट प्रेस क्लबकोसमन्वयमा भएको कार्यक्रममा वडा नं. १२ को बजार क्षेत्रबाट उत्पादित फोहर ब्यवस्थापनको लागि पहल गर्नु पर्ने,नगरको १२ र १३ नं. वडालाई समेटेर नियमित नगर बस सञ्चालन गरीनु पर्ने, शुद्ध खानेपानी सर्वसुलभ रुपमा उपलब्ध नभएकाले त्यसको ब्यवस्था गरीनु पर्ने, अपाङ्ग तथा विपन्नहरुको लागि सहज सेवा सुविधा नभएकाले त्यसको ब्यवस्था गरीनु पर्ने लगाएका माग गरेका राख्नु भएको छ ।


बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायको अध्यक्षता र कृष्ण थापाको सञ्चालन रहेको कार्यक्रममा आएका प्रश्नहरुको जवाफ दिदै नगर उप–प्रमुख उपाध्यायले नगरको जग्गा वर्गीकरण २०७२ साल देखि नै गर्नु पर्ने भएपनि कारणबस हुन नसकेकाले अहिले भएको भन्दै कसैको केहि सुधार गर्नु पर्ने भए यहि मंसिर भित्र सुधार गर्न सकिने बताउनु भयो । नगरले काम सम्पन्न गरेपछि धेरै गुनासो आएको बताउदै उहाले वर्गीकरणको समय नै हामी सबै सचेत नहुदा यो समस्या आएको उपाध्यायले बताउनु भयो । उहाँ भन्नुहुन्छ -” जग्गा वर्गीकरणको बिषयमा हामीले मसिर मसान्तसम्म सच्याउन सकिन्छ । गल्ती भएकालाई मसिर सम्म सच्याएर अगाडी नगरले गर्नु पर्ने सबै भुमिका गर्छौ ।”


त्यसैगरी खानेपानी, रासायनिक मल,बिउ र सिंचाई देखि लघु उद्यमका तालिमहरु प्रभावकारी नभएको महशुस गरीएकाले त्यसलाई प्रभाबकारी बनाउने तर्फ नगर सचेत रहेको बताउनु भएको थियो । उहाँले किसानहरुको उत्पादनलाई बजारीकरणमा समस्या नहोस भनेर नगरपालिकाले त्रिवेणी बसपार्क छेउमा रहेको रेडक्रशको भवनमा तरकारी संकलन तथा बिक्रिकेन्द्र सञ्चालनमा ल्याएको बताउदै अब केहि समयमा कोसेली घर सञ्चालन गरीने समेत बताउनु भएको थियो ।


अहिले बर्दघाट नगरपालिकाले बार्षिक १५ करोड खर्च गर्ने गरे पनि नगरले ५ करोड आम्दानी गर्ने र बाँकी १० करोड अरुसंग मागेर नै चलेकाले माग्नेकार्यको अन्त्य गर्न नगरको आयस्रोत बढाउन तर्फ सबै नगरवासी एक भउर लाग्न जरुरी रहेको उप–प्रमुख उपाध्यायको भनाई रहेको थियो । कार्यक्रमा उठाएका सबै प्रश्न तथा सुझाबहरु मनन योग्य रहेको बताउदै नगरप्रमुख अहिले नगरकै कामको शिलसिलामा काठमाण्डौ भएकाले आएपछि संगैबसेर हल गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।


त्यस्तै गरी प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले नगरवासीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने बिषयमा र जग्गाको बर्गीकरणका बिषयमा आफुले नगर सभा समक्ष प्रस्ताव नै लैजाने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । उहाँले ठुलाखालका प्राबिधिक कामहरु उपभोक्ता समितिबाट भन्दा पनि ठेक्काबाट निमार्ण गर्न सके राम्रो हुने कानुनी प्रवधान रहेको प्रष्ट पार्नु भएके थियो ।


नगर प्रवक्ता सन्तु बहादुर गाहाले आफुहरु नगरको समग्र विकासका लागि पार्दशी तरीकाले अघि बढेको बताउदै कसैलाई बिभेद नगरी अघिबढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । उहाँले नगरको विकासका लागि सबै नगरवासीहरुले एकसाथमा सहयोग गर्न जरुरी रहेको धारणा राख्नु भएको थियो ।


कार्यक्रममा सहभागिहरुबाट शाखागत रुपमा आएका प्रश्नहरुको जवाफ भने बर्दघाट नगरपालिकाका शाखा प्रमुखहरुले नै दिनु भएको थियो ।