अनाथ आश्रमको महायज्ञलाई सहयोग गर्न मेयर खांणको आग्रह

प्रकाशित मिति:

बुटवल, १ मंसिर । तिलोत्तमा ६ स्थित रामचन्द्र मैनादेवी अनाथ आश्रमको अक्षयाकोष बृद्धि गर्न श्रीमद भागवत धनधान्याञ्चल महायज्ञ शुरु भएको छ ।महायज्ञ उद्घाटन गर्दै तिलोत्तमाका मेयर रामकृष्ण खांणले आश्रम स्थापना गरी अनाथ असहाय बालबालिकालाई पालन पोषण र शिक्षा दिक्षा दिनु सबैभन्दा ठूलो मानवीय धर्म भएको भन्दै नगरपालिकाले आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले व्यक्तिगत रुपमा २५ हजार रुपैयां सहयोग घोषणा गरे । उनले यो महायज्ञ सिंगो तिलोत्तमा नगरपालिकाको महायज्ञ भएको भन्दै १७ वटै वडाका वडाध्यक्ष र नगरवासीले सहयोग गर्नुपर्ने आग्रह गरे ।

समाजसेवी रोमणिप्रसाद पाठकले मानव सेवामा मैनादेबीको समर्पण र दुःखको जति प्रसंशा गरेपनि कम हुने भन्दै साथ दिन आग्रह गरे ।
आश्रम सञ्चालनको खर्च जुटाउन अक्षयकोषलाई एक करोड पु¥याउन महायज्ञ गर्न लागिएको आश्रमकी सञ्चालक मैनादेवीले बताइन् । हाल अक्षयकोषमा ५२ लाख रुपैयां संकलन भएको तर यसको ब्याजबाट आउने मासिक ४२ हजार रकमले १२ जना बालबालिकालाई खाना, खाजा, कपडा, स्टेशनरी लगायत सामान किन्न रकम अपुग भएकाले अक्षयकोषको रकम एक करोड पु¥याउने लक्ष्य सहित पाचौं महायज्ञ सञ्चालन गर्न लागेको मैनादेवीले बताइन् । १२ जना बालबालिकाको पालनपोषण र शिक्षा दिक्षा सहित २ जना कर्मचारीलाई तलब दिन महिनामा कम्तीमा एक लाख रुपैयां खर्च हुने र त्यसका लागि अक्षयकोष एक करोड पुग्नुपर्ने उनको भनाई छ ।

आर्थिक स्रोतको अभावमा काम गर्ने कर्मचारी राख्न नसक्दा ६२ वर्षिय मैनादेवी र उनको परिवारका अधिकांश सदस्य आश्रममा आश्रित बालबालिकाको रेखदेख, स्याहार सुसार, उनीहरुको पालनपोषण र शिक्षा दिक्षाका लागि बिहानदेखि रातिसम्म खटेर आफै काम गरिरहेका छन् । अहिले आश्रममा १२ जना बालक छन् । उनीहरुले तिलोत्तमाकै शान्ति नमूना माविमा पढिरहेका छन् ।मंसिर ८ गतेसम्म चल्ने महायज्ञमा प्रेमसुजन शाष्त्री प्रमुख कथावाचक र निशान्त अधिकारी उपवाचक सहित ११ जना पण्डितहरुले संगीतमय कथावाचन गर्ने तथा ७ जना कलाकारको टोलीले झांकी र लिला सहित गीत र नृत्यमार्फत भक्तजनहरुलाई मनोरन्जन दिलाउने छन् । महायज्ञ सम्पन्न गर्न सनातनी युवा मञ्च तिलोत्तमाले आश्रमसंग सहकार्य गरेको छ । महायज्ञमा रात्रीकालिन झांकी र नृत्य विशेष आकर्षक बनाउने तयारी भएको मैनादेवीको भनाई छ ।