मणिग्राम मेलामा दर्शक बढ्दै,आज ज्योति मगरको प्रस्तुति

प्रकाशित मिति:

सबलपोष्ट तिलोत्तमा,९ मंसिर । रुपन्देहीको मणिग्राममा जारी औद्योगिक ब्यापार मेलामा दर्शकको संख्या बढ्दै गएको छ । तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा मंसिर १देखि शुरु मेलामा शुक्रबारदेखि दर्शकको संख्या उल्लेख्य मात्रामा बढेको हो । शुरुका दिनहरुमा छठ पर्व र एकादशी पर्वका कारण दर्शकको संख्या केही कम भएपनि चाडपर्वहरु सकिएका र विद्यालय,कलेजहरु खुलेपछि दर्शकहरु बढेको आयोजकले जनाएका छन् । ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिमा रमाउन, विभिन्न प्रकृतिका स्टलमा राखिएका उत्पादन अवलोकन र घर परिवारलाई आवश्यक सामान किनमेलका लागि मेलामा अवलोकनकर्ता , उपभोक्ताहरु र संगीतपारखीहरुको उत्साहजनक उपस्थिति भएको मेला आयोजक संस्थाका अध्यक्षा गुणनिधि भण्डारीले बताए ।

मेलामा संगीतपारखीहरुको रोजाईका ख्यातिप्राप्त कलाकारहरु हरेक दिन स्टेजमा उतार्ने गरिएको र त्यसले दर्शकलाई मनोरन्जनसंगै लोक संस्कृतिको जगोर्नामा पनि टेवा पुगेको सांस्कृतिक संयोजक धनबहादुर गुरुङले बताए । आज शनिबार ज्योति मगर,प्रचण्ड जीसी,रितु थापा,चेतना थापा,योगराज पोखरेल लगायतका कलाकारको प्रस्तुति रहेको गुरुङले जानकारी दिए । यस्तै तिलोत्तमा लोकतारा २,मम्मी डान्स लगायतका प्रतियोगिता र स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहने सांस्कृतिक कार्यक्रम सहसंयोजक दीपक कार्कीले बताए । मंसिर १२ सम्म चल्ने मेला एक दुई दिन लम्बिन सक्ने सम्भावना रहेको आयोजकले बताएका छन् । मेलामा कृषिजन्य,गार्मेन्टका स्टल,रेष्टुरेन्ट र बालउद्यानमा दर्शकको विशेष आकर्षण रहेको छ ।