भरत प्रधान-लिस्बन, मंसिर । आफ्नै साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपाली युवाको दुखद् निधन भएको छ । छुरा प्रहारबाट गम्भीर घाईते भएका कुश्मा न.पा.–१३, खौला, पर्वतका ३६ बर्षीय धन बहादुर क्षेत्रीको उपचारका क्रममा निधन भएको हो । क्षेत्रीको सान्तियागो स्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो निधन भएको गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिनुभयो । मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको निधन बारे निजको परिवारलाई जानकारी गराईएको खड्काले बताउनुभयो ।
पोर्चुगलको ओडिमिरा स्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनी सँगै बस्दै आएका पुतलीबजार न.पा.– १२, पेल्काचौर, स्याङ्जाका ३० बर्षीय लोकेन्द्र गुरुङले गत मंगलबार राती छुरा प्रहार गरेका थिए । खड्काका अनुसार छुरा प्रहारबाट क्षेत्रीको हात, छाती, घाँटी र पेटमा गम्भीर चोट लागेको थियो । छुरा प्रहारबाट रगताम्मे भएका उनी घटनास्थलमै अचेत भएर ढलेका थिए । घटना लगत्तै प्रहरीलाई खबर गरिएको र क्षेत्रीको उद्धार गरि तत्काल अस्पताल पू¥याईएको थियो ।
गत मंगलबार राती कोठामा मासु काट्दै गरेका क्षेत्रीलाई मदिरा पिएर आएका गुरुङले एक्कासी छुरा प्रहार गरेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकर बहादुर हमालले जानकारी दिनुभयो । मासु काट्दै गरेको चक्कु खोसेर यसरी काट्ने हो मासु भन्दै क्षेत्री माथी गुरुङले अन्धाधुन्ध चक्कु प्रहार गरेको त्यहाँ रहेका अन्य नेपालीले बताएको हमालले बताउनुभयो । छुरा प्रहार गरि फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । नेपाली समुदाय बिच यस्तो खालको घटना घट्नु अत्यन्तै दुखद् भएको महावाणिज्यदूत हमालले बताउनुभयो ।क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिना अघि क्रोसिया हुदै पोर्चुगल आएका थिए । उनीहरु दुबै जना ओडिमिरा स्थित एक कृषि कम्पनीमा कार्यरत थिए । मृतक क्षेत्रीको श्रीमती, ३ छोेरा र १ छोरी नेपालमा रहेका छन् ।