“बर्दघाट नगरपालिकामा गैर कर्मचारीले हस्तक्षेप”

प्रकाशित मिति:

प्रकाश न्यौपाने
मंसिर १२, नवलपरासी
बर्दघाट नगरपालिकामा गैर कर्मचारीले भवन, बस्ती तथा शहरी विकास योजना शाखा÷नापी उपशाखामा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाइएको छ ।


बर्दघाट नगर भित्र सञ्चालित एनएस इन्जिनियरिङ कन्सल्टेन्सी, पञ्चिमाञ्चल इन्जिनियरिङ कन्सल्टेन्सी, थर्डपोल इन्जिनियरिङ कन्सल्टेन्सी, तिरुपति मल्टिकन्सल्ट प्रा.लि. युनिभर्सल इन्जिनियरिङ कन्सल्टेन्सी, एक्सप्रेस इन्जिनियरिङ कन्सल्टेन्सीले आपत्ति जनाएका हुन् ।


कन्सल्टेन्सी सञ्चालकहरुले मंगलबार बर्दघाट नगरपालिकाको कार्यलयमा पत्राचार गर्दै नगरपालिकाकाको नापी उपशाखामा गैर कर्मचारी विनोद गिरीले दादागिरी शैलीमा फाइल खोसी अनावश्यक दुखः दिने गरेको बताएका छन् ।


गिरीले नगरपालिकाका कर्मचारीहरुलाई काममा बाधा पुर्याउने, कर्मचारीहरुलाई नगरको काम गर्न नदिई व्यक्तिगत कामको लागी कार्यालय बाहिर लैजाने, तथा आर्थिक चलखेल गर्ने गरेको कन्सल्टेन्सी सञ्चालकहरुले आरोप लगाएका छन् ।
कन्सल्टेन्सी सञ्चालकहरुले पेश गरेको पत्रमा भनिएको छ ‘यसरी एउटा गैर जिम्मेवार व्यक्तिले सिंगो नगरपलिकाको नक्शाफाँट शाखालाई नै प्रभावित पारी सेवाग्राहीले यसरी दुखः पाइरहेको हुँदा यो क्रियाकलाप प्रति हाम्रो घोर आपत्ति रहेको छ ।’


बर्दघाट नगरपालिकामा सव ईन्जीनियरको रुपमा कार्यरत रहेका गिरीलाई नगरपालिकाले गत महिना कामबाट निकालेको थियो । काम निकालिएका गिरिको नाम भने नगरपालिकाको भवन बस्ति निर्माण तथा शहरी बिकास योजना शाखामा कायम नै छ ।

कामबाट निकालिए पनि गिरीले त्यस यता दैनिक रुपमा कार्यालय आई पहिले जस्तै नियमित काम गरिरहेको स्वयम गिरी स्विकार गर्छन् । उनले आफुलाई बर्दघाट नगरपालिकाका भवन, बस्ती तथा शहरी विकास योजना शाखा÷नापी उपशाखा प्रमुख दिलिप रानाले काम गर्न बोलाएको बताए । उनी भन्छन् “म एक महिना देखी भोलिन्टियर रुपमा नगरपालिकामा सेवा गरिरहेको छु ।”


भवन, बस्ती तथा शहरी विकास योजना शाखा÷नापी उपशाखा प्रमुख दिलिप रानाले गिरीलाई मौखिक रुपमा राखिएको तर यसरी राख्न नमिल्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ “ कानुनी रुपमा शाखामा मौखिक रुपमा कर्मचारी राख्न मिल्दैन तर कामको चाप अनुसार मैले माथिल्लो निकाय संग समन्वय गरी राखेको हुँ ।”


गिरीलाई कारवाही गरी स्वच्छ वातावरणमा काम गर्न व्यवस्था मिलाई दिनुहुन गरेका कन्सल्टेन्सी सञ्चालकहरुले नगरलाई अनुरोध गरेका छन् ।