​विदेश जानेले आजबाट श्रम स्वीकृतिका सबै काम प्रदेशबाटै गर्न पाउने

प्रकाशित मिति:

पुष १५, बुटवल । आजबाट वैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृति जस्ता वैदेशिक रोजगारीका विभिन्न काम प्रदेशतहबाट गर्न पाउने भएका छन् । केहिदिन अघि बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरिसकेपछि अब ती सेवा सरकारले आजदेखि प्रदेशतहबाटै दिन लागेको हो । आजदेखि श्रम स्वीकृतिको प्रकृया व्यक्तिगत रूपमा र म्यानपावर कम्पनीका शाखाले पनि गर्ने व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मीले बताए ।

प्रदेश तह र श्रम कार्यालयबाट सेवा दिने कार्यालयमा झापा, विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी रहेका छन् । सरकारले प्रदेशतहबाटै सेवा दिने निर्णय गरेर कार्यान्वयमा ल्याएपछि यसअघि वैदेशिक रोजगारीमा जानुअघि पुराउनुपर्ने प्रक्रियाका लागि राजधानी आउनुपर्ने बाध्यता हटेको छ । तर सबै प्रक्रिया राजधानी बाहिरबाट गरिहाल्न कठिन हुने भन्दै म्यान पावर व्यवसायीको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले भने आफूले गर्न नसक्ने जनाएको छ ।