रुपन्देही, ११ पुस । रुपन्देहीको तिलोत्तोमा नगरपालिका वडा नं. ७ भलवारीस्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । तिलोत्तमा उद्योग ब्यापार संगठन रुपन्देहीले बुधबार विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरेको हो ।
संगठनको बार्षिक कार्ययोजना अन्तरगत उक्त विद्यालयका तीन दर्जन गरिव तथा जेहेन्दार विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको कार्यक्रम संयोजक कमला चौधरीले जानकारी दिइन् ।
विद्यार्थीलाई पोशाक वितरण गर्दै संगठनका अध्यक्ष प्रेमबहादुर घर्तीले संगठनले सामाजिक उत्तरदायित्व पुरा गर्ने विभिन्न कार्यक्रम अन्तरगत विद्यार्थीलाई पोशाक वितरण गरिएको बताउनुभयो । संगठनको सहयोगले जाडोयाममा विद्यार्थीलाई सहज हुने विश्वास उनले ब्यक्त गरे ।
न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रितादेवि ज्ञवालीले सामाजिक उत्तरदायित्व बोध गरेर संगठनले विद्यालयका बालवालिकालाई न्यानो कपडा वितरण गरेकोप्रति आभार ब्यक्त गरिन् । आगामी दिनमा पनि यस्तो सहयोगको अपेक्षा गरेको उनको भनाई थियो । उद्योग ब्यापार संगठनका रविन जोशीले विभिन्न सामाजिक क्षेत्रमा संस्थाले काम गरिहेको भन्दै आगामी साता स्वास्थ शिविर समेत गरिने उल्लेख गरे ।