क्यानाडाली नागरिक रिहा

प्रकाशित मिति:

बेइजिङ, १५ पुस (रासस/एएनआई) – चीनमा पक्राउ परेका क्यानाडाली नागरिक आइतबार रिहा भएका छन् । ग्लोबल अफेयर्स क्यानाडाका प्रवक्ता रिचार्ड वाल्करका अनुसार चीनमा प्राध्यापन पेशामा आबद्ध रहेकी सराहा म्याकआइभरलाई बिना अनुमति चीनमा बसेको आरोपमा पक्राउ गरिएको थियो । म्याकआइभरको क्यानाडा फिर्ता जाने बारेमा थप जानकारी दिन वाल्करले अस्वीकार गर्नुभयो ।

म्याकआइभरको गिरफ्तारीका बारेमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चासो दिनुभएको थियो । चीनमा क्यानाडाली नागरिकको गिरफ्तारीका घटना भइरहकोप्रति उहाँले आश्चर्य व्यक्त गर्नुभएको थियो । चिनीया कम्पनी हुवावेकी प्रमुख वित्त अधिकृत मेङ वान्झाउलाई अमेरिकी अनुरोधमा क्यानाडामा पक्राउ गरेलगत्तै दुई जना क्यानाडेली नागरिकलाई चीनले गिरफ्तार गरेको छ । चीनले क्यानाडाली नागरिकहरु माइकल स्पाभोर र माइकल कोभरिगमाथि चीनको राष्ट्रिय सुरक्षामा आँच पुग्ने कार्य गरेको आरोप लगाएको छ ।