भैरहवा, २ फागुन । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले आफूहरुले राम्रो काम गर्न सके मात्र जनताबाट ‘रिन्यू’ हुन सक्ने बताएका छन् । उनले आफूहरु पाँच वर्षका लागि निर्वाचित भएको र राम्रो काम गर्न सके मात्र रिन्यू हुने बताए । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयमा बुधबार आयोजित सरस्वती पूजन, अक्षराम्भ एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले जनप्रतिनिधि निमित्त भए पनि शिक्षकहरु सेवानिवृत्त नभएसम्म विद्यालयमा पढाइरहने भएकाले शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए ।उनले भने, ‘विद्यार्थीहरुलाई अध्यापनमार्फत ऐतिहासिक व्यक्ति बन्ने अवसर शिक्षकहरुले प्रदान गर्नुहुन्छ । ’
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले विद्यालयमा भौतिक पूर्वाधार आवश्यक रहेकोमा जोड दिए । उनले विगतमा भौतिक पूर्वाधारको अभावमा समेत पठनपाठन भएको बताए ।उनले आफू जनताबाट मत प्राप्त गरी यहाँसम्म पुगेकोले जनताले आफूप्रति विश्वास राखेको बताए । आगामी दिनमा पनि विद्यालयको विकासका लागि प्रदेश सरकारबाट बजेट बिनियोजन गरिने उनको भनाइ छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले सामूदायिक विद्यालयमा पढेका विद्यार्थी विभिन्न ओहोदामा पुगेको बताए । उनले प्रदेश सरकारले शिक्षा क्षेत्रमा चासो राख्दै आगामी दिनमा पनि विद्यालयका लागि बजेट बिनियोजन गर्न आग्रह गरे ।विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डेले लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु.३५ लाख र विद्यालयबाट ४ लाख २७ हजार थप गरी ३९ लाख २७ हजारमा भवन निर्माण हुने बताए । उनले भवन निर्माण छिट्टै सम्पन्न गरिने बताए ।कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा समाजसेवी नारायण प्रसाद अग्रवाल, विद्यालयका पूर्व विद्यार्थी नवराज न्यौपाने, शिक्षक रामेश्वर सुवेदीलगायतले बोलेका थिए ।