काठमाडौं– नेपालको संविधान २०७२ ले धर्म र जातका आधारमा गरिने विभेदलाई अपराध मान्छ । त्यस माथि सामाजिक रुपमा विविधता सहितको समाजमा मिलेर बस्ने हाम्रो पहिचान नै हो । तर हाम्रै समाजमा धर्म र जातका आधारमा वर्षौ देखि पीडा भोग्दै आएका कैयौं उदाहरण छन् ।
धनकुटा बुढीमोरङका श्रम सरिब लिम्बु र उनकी श्रीमती पुर्णिमा बिष्ट (लिम्बु) ले २०५८ साल देखि समाजको त्यही अघोषित विभेदको यातना भोग्दै आएका छन् । २०५८ सालमा प्रेम विवाह गरेका श्रम सरिब र पुर्णिमालाई फरक धर्म र जात भएकै कारण बिवाह भएको २० वर्ष पुग्दा समेत पुर्णिमाको माइतीले स्वीकारेको छैन ।
क्रिस्चियन धर्म मान्ने श्रम सरिबले हिन्दुकी छोरी पुर्णिमालाई विवाह गरे पछि उनीहरुको सम्बन्धलाई पुर्णिमाको माइती पक्षले स्वीकार त गरेन नै उनीहरु २० वर्ष देखि गाउँ फर्कन पाएका छैनन् । पुर्णिमा भन्छिन्, ‘हामी एउटै स्कुल पढेको, स्कुल पढ्दा पढ्दै माया बस्यो उहाँ कुन धर्म कुन जात मलाई थाहा पनि भएन, छुटिन सकेनौं भागेर विहे गर्यौं । यसै पनि म क्षेत्रीको छोरी,उहाँ लिम्बुको जातैले नस्वीकार्ने, त्यस माथि धर्म फरक परेपछि हामी गाउँमा बस्न सक्ने अवस्था भएन ।’
बिहे गर्दा श्रम सरिब २० वर्षका थिए, पुर्णिमा १५ वर्षकी थिइन् । एक अर्काबाट छुटिएर बाँच्न नसक्ने अवस्थामा पुगेपछि श्रमले पुर्णिमालाई धनकुटाबाट काठमाडौं भगाएर ल्याई काठमाडौंका एक चर्चमा पवित्र विवाह गरे । उनीहरुले विवाह गरेको थाहा पाएसँगै पुर्णिमाको माइतीले उनीहरुको जोडी छुटाउन काठमाडौं आएर खोज्न थाले । काठमाडौंमा बस्दा असुरक्षित भएपछि उनीहरु भागेर भारत पसे ।
‘हामी आफै केटाकेटी जस्ता मान्छे, आफ्नो देशमा असुरक्षित भएपछि अर्काको देशको देश पस्नुपर्यो । घर जाने वातावरण थिएन’ उनले भनिन्, ‘घरतिरबाट घर फर्किए ज्यानै लगिदिन सक्छन्, उतै बस्नु भन्ने खबर आउँथ्यो ।’ उनीहरु भारतको दिल्ली, हरियाणा, पञ्जाव लगायतका ठाउँमा १५ वर्ष बिताए । त्यसबीचमा उनीहरुको छोरा पनि जन्मिए । नेपाल फर्कने अवस्था थिएन । दुबै जनाले मजदुरी गरेरै भएपनि गुजारा चलाएका थिए , छोरालाई पनि विद्यालय भर्णा गरिदिएका थिए ।
दिल्ली बस्दा उनीहरु दिल्लीकै एक स्थानीय चर्चमा संगतीको लागि जाने गर्थे । एक दिन चर्चमा आक्रमण भयो । पछि थाहा भयो, हिन्दु युवा संघले आक्रमण गरेको रहेछ । ‘चर्चमा आक्रमण भएपछि थाहा भयो, भारतमा त हिन्दु धर्म झनै कट्टर रहेछ, हुँदा हुँदा टोलमै मारकाट हुन थाल्यो १५ वर्ष पछि फेरि काठमाडौं फर्कियौं’ पुर्णिमाले भनिन् ।
१५ वर्ष बित्दा समेत गाउँमा जाने अवस्था थिएन । काठमाडौं आएपछि श्रम सरिबले विदेश जाने योजना बनाए । साथीहरुले टर्कीमा राम्रो काम पाइन्छ भन्ने थाहा पाएका उनले श्रीमती र छोरा छाडेर टर्की हानिए । टर्की पनि सोंचे जस्तो थिएन, उनलाई लैजाने कम्पनी ठग्यो, गएको केही महिना मै कम्पनी बन्द भयो । श्रमले फोन सम्पर्कमा दुःख पोखे, ‘कम्पनी बन्द भएपछि नेपाल फर्कन सक्ने अवस्था थिएन, कम्पनी बन्द भएपनि टर्कीमै एक डेढ वर्ष काम गरें, त्यस माथि कमाइ पनि नहुने साथीहरुको सल्लाहमा ग्रिस छिरें, अवैध तरिकाले ग्रिस छिरेको कहाँ बस्न दिन्थ्यो, पुलिसले समात्यो ।’ ग्रिसमा पक्राउ परेका उनी ६ महिना प्रहरीको हिरासतमै बिताए । ६ महिना पछि ग्रिस छाड्ने शर्तमा उनलाई प्रहरीले छाड्यो । उनले भने, ‘दुःख माथि दुःख थपियो, एक पटक घर फर्कौं भन्ने लागेको हो तर घरमा फर्किए, ज्यानै जाने डर, ग्रिस छाडेर अल्मनिया, मन्टिनयुरो, बोस्निया, क्रेसिया, हुँदै इटली पुगें ।’ श्रम केही महिना अगाडि मात्रै इटली पुगेकाछन् ।
श्रम टर्की मै भएको बेला यता ४ वर्ष अगाडि बुवा ४ वर्ष खसे तर उनी घर फर्कन पाएनन् । उनले भावुक हुँदै भने, ‘घरमा बुवा खस्दा समेत जान पाएन, घर परिवारको धेरै याद आउँछ तर के गर्नु नेपालमा बस्नु भन्दा दुःख गरेर यतै बस्न मन छ ।’ उता श्रम परदेशमा दुःख खेपिरहेका छन्, यता पुर्णिमा अनेक अभाव र दवावमा छोरो सहित काठमाडौंमा बसिरहेकी छिन् । पुर्णिमाले भनिन्, ‘छोरो हुर्कियो, घरमा जाने वातावरण छैन, यहीँ बस्न पनि डर र धम्की मात्र दिन्छन्, कहाँ जानु ?’