हनिमुनका लागि कहाँ जाने ? यी हुन विश्वका प्रख्यात स्थल

प्रकाशित मिति:

विहे गर्नासाथ हनिमुनमा जाने चलन नेपाली होइन तर पछिल्लो समय नवविवाहित नेपाली दम्पत्तिहरु हनिमुनमा निस्कने गरेका छन् । नेपाल आँफैमा पनि हनिमुनका लागि एउटा राम्रो गन्तब्य हो । नेपालका थुप्रै ठाउँहरुमा विदेशीहरु हनिमुनका लागि आउने गरेका छन् । तर आर्थिक अवस्था राम्रो भएका नेपालीहरुका लागि विदेश पहिलो रोजाइ हुने गरेको छ । यदि तपाईँ पनि हनिमुनका लागि जाने सोचमा हुनुहुन्छ भने जानिराख्नुहोस् विश्वका कुन ठाउँ उपयुक्त हुन सक्छ ।
पेरिस
फ्रान्सको पेरिस घुम्नका लागि जति प्रख्यात छ, हनिमुनका लागिसमेत त्यति नै प्रसिद्ध छ । ‘सिटी अफ लभ एण्ड रोमान्स’को उपमा पाएको पेरिसमा हनिमुन मनाउन नवविवाहित जोडीहरूका लागि सपना नै हुन्छ । फुड र वाइन, कला र संरचनाका लागि प्रख्यात पेरिसमा १९ औं शताब्दीमा बनेका संरचनाहरूको चार्म अझै उस्तै छ । पहिलो पटक पेरिसमा पाइला टेक्नेहरूलाई यहाँको फेसन र कला तथा क्याफे कल्चरले लोभ्याउँछ । त्यसबाहेक हनिमुन जानेहरूले सिन नदीमा सञ्चालित क्रुजमा डिनर गर्न छुटाउँदैनन् । पेरिस घुम्न नछुटाउने सूचीमा पर्छन— लुभ्र म्युजियम, नोट्रे ड्याम डे परेसी तथा सिन नदी । कम बजेटमा पनि पेरिस घुम्न र त्यहाँका होटेलमा बस्न सकिन्छ । अग्रिम रूपमा बुकिङ गर्दा सस्तो टिकट प्राप्त गर्न सकिन्छ ।
थाइल्यान्ड
थाइल्यान्ड विश्वमा अत्यधिक पर्यटकको रोजाइमा पर्छ । थाइल्यान्डका फुकेट र पटाया घुमघामका लागि चर्चित सहर हुन् । विशेषगरी यहाँको रात्री जीवनले पर्यटकहरूलाई लोभ्याउँछ । फिफि आइसल्यान्ड, माया बि, मंकी, थाई, जेम्स जस्ता बिभिन्न टापुमा माया साट्ने जोडीको लस्कर देखिन्छ । विश्वमै सर्वाधिक बढी घुमिने चौथो सहर हो— बैंकक । यहाँको रात्री जीवन निकै लोभ लाग्दो हुन्छ । बिभिन्न ट्राभल एजेन्सीहरूले थाइल्यान्डको हनिमुन प्याकेज बिक्री गर्दै आएका छन् । सस्तो टिकट, खानपान तथा बसाइले गर्दा थुप्रै नेपालीले थाइल्यान्डलाई आफ्नो रोजाइमा राख्दै आएका छन् ।
इन्डोनेसिया
इन्डोनेसियाको बाली धेरै पर्यटक भित्राउने ठाउँ हो । साना र ठूला गरेर १३ हजारभन्दा बढी टापु भएको इन्डोनेसियामा पुराना मन्दिर, हिमाल, वन्यजन्तु आदि हेर्नलायक थुप्रै ठाउँ छन् । कोमोदो, ओरोबीच, बन्दा आइल्यान्ड, लेक टोबा, टोगेन आइसल्यान्ड, बाली, माउन्ट ब्रोमो, बेलिटुङ आइल्यान्ड हनिमुनका बेला बढी घुमिने ठाउँ हुन् । नेपालबाट बालीका लागि ४ रात तथा ५ दिनको जोडी प्याकेज डेढ लाखसम्ममा उपलब्ध छ ।
स्वीजरल्यान्ड
तालतलैया, अग्ला हिमाल तथा गाउँहरू भएको देश स्वीजरल्यान्ड विशेषगरी स्वीस घडी र चकलेटका लागि जति प्रख्यात छ, हनिमुन र रोमान्सका लागी पनि त्यतिकै कहलिएको छ । हनिमुनका लागि स्वीजरल्यान्डको सबैभन्दा बढी घुमिने ठाउँ हो— जुरिच । ‘द सिटी अफ पिस’ का रूपमा परिचित जेनेभा घुम्न लालायित हुने जमात पनि ठूलै छ । चर्चित माउन्टेन रिसोर्ट जर्म्याट, लुक्रेन, इन्टरलकेन, मोन्ट्ेरयुक्स तथा स्टेन एम् रेन हनिमुनका लागि प्रख्यात ठाउँहरू हुन् ।
जमैका
हनिमुनका लागि जमैका पनि उपयुक्त गन्तव्य हो । ब्याम्र्बु याफ्टिङ, कपल मसाज एण्ड स्पा, बारको रमाइलो, समुद्री किनारमा डिनर गर्न पाउनु यहाँका मुख्य आकर्षण हुन् । जमैका क्युबा र हाइटीपछि क्यारेबियन क्षेत्रको तेस्रो ठूलो टापु समूहको देश हो । यहाँ घुम्नका लागि गाइड तथा कार भाडामा लिन सकिन्छ ।
फिजी
सेतो बालुवा तथा नीलो समुद्री किनारमा हनिमुन मनाउने सोच छ भने फिजी तपाईंका लागि उपयुक्त ठाउँ हो । आफ्नो छोटो समयलाई जीवनभर यादगार बनाउन चाहनुहुन्छ भने फिजीलाई गन्तव्य बनाउन सक्नुहुन्छ । यदि एक हप्ताको समय मात्र छुट्याउने हो भने यहाँ पर्याप्त आनन्द उठाउन सकिन्छ । फिजीमा जहाँ पुगे पनि न्यानो आतिथ्य पाइन्छ । भिटी लेभु, मामानुकास, टाभेउनी फिजीका केही चर्चित गन्तव्य हुन् ।
संसारका २५ उत्कृष्ट स्थान फ्लोरिडा, लस क्याबोस, मेक्सिको, सान्टा बारबरा, क्यालिफोर्निया, माइकोनोस, ग्रिस, थाइल्यान्ड, बर्मुडा, रिभिरा, मेक्सिको, इन्डोनेसिया, भियतनाम, बेली, सेन्ट लुसिया, कोस्टारिका, आइल्यान्ड अफ हवाई, सेन्ट भिन्सेन्ट र द ग्रेनाडिन्स, नसाउ प्याराडाइज आइल्यान्ड–बहमास, इबिजा–स्पेन, ओर्लान्डो–फ्लोरिडा, क्याम्बोडिया, आइसल्यान्ड, पेरिस, न्यु ओर्लियन्स–लुजियाना, लण्डन–इंग्ल्यान्ड, रोम–इटली ।