मणिग्राम, फाल्गुण, सोमबार । जागरण शिक्षामा जेसीज” शीर्षकमा भलवारी जेसीजले रूपन्देहीको तिलोत्तमा नगरका कक्षा ११ तथा १२ का विद्यार्थीमा उत्प्रेरणा शिक्षा आज (सोमबार) देखि सञ्चालन गरेको छ । आज (सोमबार) प्यारामाउण्ट आवासीय मा.वि.मा उद्घाटन गर्दै नगरव्यापी उत्प्रेरणा शिक्षा सञ्चालन गरिएको भलवारी जेसीजका कानुनी सल्लाहकार प्रताप भण्डारीले जानकारी दिनुभयो ।नगरव्यापी कार्यक्रम उद्घाटन गर्दै रूपन्देहीका अग्रज उद्यमी, समाजसेवी एवम् विद्यालयका अध्यक्ष पूर्णप्रसाद सापकोटाले जेसीजले किशोरावस्थाका विद्यार्थीमा जागरण अभियान सञ्चालन गर्नु समाजको दिगो विकाशका दृष्टिले उत्कृष्ट हुने बताउनुभयो ।
भलवारी जेसीजका अध्यक्ष सी.पी. भट्टराई (जीवन) को अध्यक्षता, कोषाध्यक्ष रूपेश पाण्डेको संयोजकत्व तथा महासचिव मिनप्रसाद तिवारीको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको थियो ।सो अवसरमा प्रशिक्षक मुक्तिनाथ गैह्रेले विद्यार्थीवयमा गम्भीर हुनुपर्ने विषय, परीक्षाको तयारी, वृत्ति विकाशका शैली, पारिवारिक तथा सामुदायिक संस्कारको अपनत्व, कर्मशीलताको नतीजा, स्वास्थ्य, जीवनशैली लगायतमा अन्तरक्र्रिया र क्रियाकलापसहित जागरणका नमूना प्रस्तुत गर्नुभएको थियो ।