त्रिवि प्राध्यापक संघमा कांग्रेस निकट प्रजातन्त्रवादीको बहुमत !

प्रकाशित मिति:

पुष १६,काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको केन्द्रीय कार्यसमितिमा प्रजातन्त्रवादी प्राध्यापक संघको समूहले बहुमत ल्याएको छ । दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएर नेकपा गठन भएपछि एक भएको नेकपा निकट प्रगतिशिल समूहलाई पछि पार्दै प्रजातन्त्रवादी समूहले बहुमत ल्याएको हो । नेकपा गठनपछि भएको यो चुनावलाई बौद्धिक क्षेत्रले नियालेको थियो । बहुमत ल्याएकै समुहले पदाधिकारी चयन गर्ने भएकाले प्रजातन्त्रवादीहरुकै तर्फबाट निर्वाचितहरु पदाधिकारीमा नियुक्त हुने भएका छन् । निर्वाचित १५ जनामध्ये आठ जना प्रजातन्त्रवादी पक्षका रहेकाले उनीहरुले पहिलो बैठकबाटै पदाधिकारी चयन गर्ने तय भइसकेको छ । उनीहरुले सभापतिमा बसन्त ढकाल, उपसभापतिमा कपिलदेव यादव, महासचिवमा केशवराज शर्मा, सचिवमा अजयकुमार पौडेल र कोषाध्यक्षमा उत्तरा खनाललाई नियुक्त गर्ने तय भइसकेको प्रजातन्त्रवादी प्राध्यापक संघका सचिव डा विष्णु पोखरेलले जानकारी दिए ।

प्रजातन्त्रवादीकै तर्फबाट कमलराज पौडेल, बद्री तामाङ र प्रकाश श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी प्रगतिशिल समूहबाट सदस्यमा निर्वाचित हुनेमा कृष्णराज ढकाल, डा पदमप्रसाद खतिवडा, मिना गुरुङ, मौसमी गुरागाई, रेमन्त मोरबैत्ता, बलराम डिसी र सुन्दर गौतम छन् । निर्वाचनको परिणामले अधिकांश बुद्धिजिविहरु लोकतन्त्रकै पक्षमा छन् भन्ने पुष्टि गरेकाले लोकतन्त्रलाई संस्थागत गर्न थप योगदान पुग्ने प्रजातन्त्रवादी प्राध्यापक संघका सचिव डा पोखरेलले बताए । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सात हजार नौ सय प्राध्यापकहरुबाट यो कार्यसमिति चयन भएको हो।