पञ्चनगर खानेपानीमा नेतृत्वको रस्साकस्सी : खत्री, पौड्याल र भट्टराई चुनावी मैदानमा

प्रकाशित मिति:

प्रकाश न्यौपाने
चैत्र ५ गते

नवलपरासी । बर्दघाट नगरपालिका वडा नम्बर १० मा रहेको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको छैठौँ नेतृत्वको लागि रस्साकस्सी चलिरहेको छ ।

छैठौँ अधिवेशनको चुनावी मैदानमा कर्णबहादुर खत्रि, शरद पौड्याल र ज्ञानहरी भट्टराई चुनावी उत्रिएका छन् । खत्री निवर्तमान लेखा समिति संयोजक हुन् भने पौड्याल निवर्तमान सचिव हुन् । त्यस्तै भट्टराई पुर्व लेखा समिति सदस्य हुन् ।


खत्रीको प्यानलमा उपाध्यक्षमा यज्ञ प्रसाद खनाल, सचिवमा शिव देव न्यौपाने, कोषाध्यक्षमा चन्द्र कुमारी थापा (मसिना) रहनुभएको छ । खत्री प्यानलको खुल्ला सदस्यहरुमा पदमपानी आचार्य, गणेश न्यौपाने, विष्णु कुमारी दलार्मी, मायादेवी खरेल, रहनुभएको छ भने, आदिवासी÷जनजाति सदस्यमा रमेश फौजदार, दलित सदस्यमा सिता नेपाली, लेखा समिति संयोजकमा राजु विश्वा (विश्वकर्मा) र खुला तर्फको लेखा समिति संयोजकमा शुशिल लामिछाने रहनुभएको छ ।

खत्रीले सहमतिको आधारमा अघि बढ्न खोज्दा केही महत्वाकांक्षी व्यक्तिहरुको हठका कारण निर्वाचित पक्रियामा जानुपर्ने अवस्था आएको बताउनुभयो । सामुहिक प्रयास र सहकार्यले नै सामाजिक संस्थाको प्रगति हुन सक्ने बताउँदै गठबन्धनले गुणस्तरिय पानी खुवाउन सक्ने नेतृत्व आफूलाई देखेको कारणले अध्यक्षमा उम्मेदवारी दिएको दावी गर्नुभयो ।
खत्रीलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतको समर्थन रहेको खत्रीले उल्लेख गर्नुभयो ।

खत्रीले कांग्रेसले नेतृत्व गरेको गठबन्धनको आधिकारीक उम्मेदवार आफू रहेको दावी गरेता पनि अध्यक्षका अर्का उम्मेदवार शरद पौड्याल नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन् ।


शरद पौड्यालको प्यानलमा उपाध्यक्ष पदको उम्मेदवारमा राम बहादुर थापा हुनुहुन्छ । थापा माओवादी केन्द्रको संगठित सदस्य रहनुभएको छ । सचिव पदमा सन्तोष लामिछाने, कोषाध्यक्षमा निल कुमारी चौधरी, खुल्ला सदस्यमा जिवन श्रेष्ठ र गणेश न्यौपाने, महिला सदस्यमा पशुपति कुमारी चौधरी, आदिवासी जनजाति सदस्यमा रमेश फौजदार, लेखा समिति संयोजकमा तारा बहादुर पाण्डे, लेखा समिति सदस्यमा शुशिल लामिछाने रहेका छन् ।

पौड्यालले छैठौँ अधिवेशन तथा निर्वाचनमा अनुभवी एवं सामाजिक व्यक्तित्वहरु आफ्नो प्यानलमा रहेको बताउँदै विजय गराउन आग्रह गर्नुभयो । चौविसै घण्टा सफा, स्वच्छ र शुलभ रुपमा उपभोक्ता माझ खानेपानी उपलब्ध गराउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

खत्री र पौड्यालले आ–आफ्ना प्यानल घोषणा गरेपनि खुला सदस्य गणेश न्यौपाने, आदिवासी सदस्य रमेश फौजदार र लेखा समिति सदस्य शुशिल लामिछाने खत्री र पौड्याल दुवै प्यानलमा रहेका छन् ।


त्यस्तै ज्ञानहरी भट्टराई प्यानलबाट भने उपाध्यक्षको उम्मेदवार दिइएको छैन । भट्टराई प्यानलको सचिवमा पदमा खुल्ला सदस्य पदमा विष्णु प्रसाद पौडेल, शालिग्राम भट्टराई दलित सदस्य पदमा संगिता परियार, जनजाति सदस्य पदमा ममता प्रधान, महिला सदस्य पदमा लुमा कुमारी सुवेदी र लेखा सदस्य पदका उम्मेदवारमा आनन्द प्रसाद अधिकारी रहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टिबाट आफ्नो प्यानल खडा गरेको अध्यक्षका उम्मेदवार भट्टराईले बताउनुभयो ।

ठुला पार्टिले काम गर्दा व्यक्तिगत स्वार्थ हेर्ने र सहमतिमा नेतृत्व बनाउन नखोजेका कारण रास्वपा प्यानल साथ चुनावी मैदानमा होमिएको बताउनुभयो । पानीको शुद्धता र गुणस्तरियताका लागि आफ्नो उम्मेदवारी रहेको भट्टराईको दावी छ ।

पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको नेतृत्वको लागी चैतको ९ गते मतदान हुदै छ ।