अमेरीका र चिन सहीत अन्य मुलुकको व्यापारयुद्धले थलिएको २०१८

प्रकाशित मिति:

काठमाडौं । २०१८ मा व्यापारयुद्ध सुरु भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन तथा अन्य मुलुकहरुले अमेरिकाबाट नाजायज फाइदा लिइरहेको र अमेरिकाको अर्थतन्त्र भने कमजोर बन्दै गएको बताउँदै आएका थिए । जसमा यस वर्षदेखि अमेरिकाले राखेको माग पूरा नगरेको खण्डमा आयात हुने वस्तुहरुमा अतिरिक्त कर लगाउने निर्णय गर्‍यो । यससँगै व्यापारयुद्ध चर्किन पुग्यो । विशेषगरी चीनसँगको व्यापारयुद्धले यस वर्ष निकै ठूलो चर्चा पायो । अमेरिकाले चीनसँगको व्यापारघाटा घटाउनका लागि ३४ अर्ब, १६ अर्ब र २ खर्ब गरी २ खर्ब ५० अर्ब डलरका सामग्रीहरुमा अतिरिक्त महशुल लगाएको छ । त्यसैगरी चीनले पनि ३४ अर्ब, १६ अर्ब र ६० अर्ब गरी एक खर्ब १० अर्बभन्दा बढीका सामग्रीमा अतिरिक्त महशुल लगाएको छ ।

व्यापारयुद्धले विश्व अर्थतन्त्र कमजोर

व्यापारयुद्धको प्रभाव २०१९ मा देखिने विश्लेषकले बताएका छन् । केही समयअघि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले अमेरिका र चीनको बीचमा जारिरहेको व्यापारयुद्धले विश्वको अर्थतन्त्र थप कमजोर र जोखिमपूर्ण बन्दै जाने चेतावनी दिएको थियो । आईएमएफले यस वर्ष र आगामी वर्षको लागि विश्वको आर्थिक वृद्धिदर यसअघि अनुमान गरिएको तुलनामा केही कमजोर रहनसक्ने बताएको थियो । उसले दुई मुलुकको व्यापारयुद्धले आर्थिक सुधारको लागि ठुलो समस्या सिर्जना गरेको बताएको छ । अर्थतन्त्रको कारण केही मुलुकहरुको राजनीतिमा पनि व्यापक परिवर्तन आउनसक्ने बताइएको छ । पछिल्लो चरणको करवृद्धिमा अमेरिकाले चीनमाथि दुई खर्ब डलरका सामग्री चीनले ६० अर्ब डलरबराबरको सामग्रीमा करवृद्धिको निर्णय गरेका थिए ।

विश्वको आर्थिक वृद्धिदरमा कस्तो असर

विश्वको आर्थिक वृद्धिदर सन् २०१८ र २०१९ को लागि ३ ७ प्रतिशत रहने अनुमान गरिएको छ । यसअघि गत जुलाई महिनामा ३ ९ प्रतिशतमा रहने अनुमान गरिएकोमा पछिल्लो समय देखिएको व्यापारिक समस्याको कारण आर्थिक वृद्धिदर केही कमजोर रहनसक्ने अनुमान गरिएको हो । आईएमएफले छोटो अवधिको नतिजालाई आधार मान्ने हो भने विश्वको आर्थिक क्षेत्र गिरावटको क्रममा रहेको बताएको छ । युरोक्षेत्रको सुस्तगतिको सुधारका साथै तीव्र गतिमा विस्तार भइरहेका मुलुकहरुमा देखिएको समस्याको कारण विश्व अर्थतन्त्र कमजोर बन्नसक्ने आईएमएफले बताएको छ । चरम आर्थिक संकटमा रहेको भेनेजुयलाको अर्थतन्त्रमा सन् २०१९ मा लगातार छैठौं वर्षको गिरावटमा पर्नसक्ने विवरणमा उल्लेख गरिएको छ । साथै अर्जेन्टिनाको अर्थतन्त्रमा पनि सन् २०१८ र २०१९ मा गिरावट आउनसक्ने अनुमान गरिएको छ ।

व्यपारयुद्ध कति नराम्रो

अमेरिका र चीनबीच चलिरहेको करवृद्धिको प्रतिस्पर्धाले दुवै मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्नसक्ने देखिएको छ । सन् २०१९ मा अहिलेको व्यापारयुद्धको परिणाम दुवै मुलुकहरुमा देखिनेछ । विश्लेषकहरुले अहिलेको अवस्थामा सुधार गर्न नसकेको खण्डमा आगामी दिनमा विश्व अर्थतन्त्र थप कमजोर हुँदै जाने बताएका छन् । व्यापारयुद्धको सबैभन्दा नकारात्मक असर भने अमेरिकाको अर्थतन्त्रमा देखिने विश्लेषकहरुको भनाइ छ । सन् २०१९ मा चीनको अर्थतन्त्र पनि पाँच प्रतिशतभन्दा कमजोर रहनसक्ने अनुमान गरिएको छ । आगामी वर्षको लागि ६।२ प्रतिशतको आथिक सुधारको अनुमान गरिएकोमा सो भन्दा पनि केही कमजोर नतिजा हासिल हुनसक्ने बताइएको हो ।

ब्रेजिक्ट र बेलायतको अर्थतन्त्र कस्तो

बेलायतको अर्थतन्त्रमा यस वर्ष १,४ प्रतिशतको सुधार आउनसक्ने अनुमान गरिएको छ । आगामी वर्षको लागि भने उसको अर्थतन्त्रमा १ ,५ प्रतिशतको सुधार हासिल हुनसक्ने अनुमान गरिएको छ । आईएमएफले कुनै सम्झौता विना नै बेलायत ईयूबाट बाहिरिएको खण्डमा भने उसको अर्थतन्त्र जोखिममा पर्नसक्ने बताइएको छ । आईएमएफले मुद्रास्फीतिदर सन्तुलित अवस्थामा राख्नका लागि बेलायतको लागि व्याजदर बढाउनुपर्ने आवश्यकता अबको केही वर्षमा देखिने बताएको छ । त्यसको लागि अहिलेदेखि नै बेलायतलाई आर्थिक अवस्थामा सुधार गर्नुपर्ने चुनौती रहेको बताइएको छ ।

हुवावेई प्रकरण

व्यापारयुद्धकै एक भागको रुपमा हुवावेई प्रकरणलाई हेरिएको छ । कम्पनीकी उपाध्यक्ष तथा वित्तीय प्रमुख मेङ वाङझोउ डिसेम्बर १ मा क्यानडामा पक्राउ परेकी थिइन् । क्यानडामा उनको परिवार र सम्पत्तिको सम्बन्ध रहेको छ । मंगलबार उनले क्यानडामा आवश्यक धरौटी बुझाएकी छिन् तर अझै पनि उनलाई अमेरिका सुपुर्दगी गर्ने सम्भावना छ । सन् २०१६ देखि अमेरिकाले निरन्तरहरुपमा हुवावेईमाथि अनुसन्धान गरिरहेको छ ।

उनले अर्को संस्थाको नामबाट हुवावेको कारोबार गरिरहेको आरोप लगाइएको छ । यद्यपि मेङका वकिलले भने यसअघि नै हुवावे र स्काइकोम छुट्टिएको र आरोप गलत रहेको बताएका छन् । यदि यो आरोप पुष्टि भएको खण्डमा मेङ अमेरिकामा ३० वर्ष जेल बस्नुपर्ने हुन्छ ।

यो घटनापछि चीनले तीनजना क्यानेडियन नागरिकलाई पक्राउ गरेको थियो । यद्यपि एकजनालाई भने रिहा गरिएको छ ।

कहिले सकिएला व्यापारयुद्ध

चीन–अमेरिका व्यापारयुद्ध विश्व बजारमा सबैभन्दा चासो र चर्चामा रहेको विषय हो । दुई मुलुकहरुको बीचमा देखिएको व्यापारिक तनावको कारण विश्व बजारको धेरैजसो क्षेत्रहरु प्रभावित बन्न पुगेका छन् ।

स्याण्डर्ड चार्टर्ड बैंकले भने यो व्यापारयुद्ध २०२० मा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनसम्म रहने बताएको छ । अमेरिकाको चीनसँगको व्यापारयुद्धको नीति राजनीतिसँगै परिवर्तन हुने भएकोले राष्ट्रपतीय निर्वाचनसम्मा यो समस्या समाधान हुने बैंकका अधिकारीले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी कार्यकालका लागि पनि उठ्नसक्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प उच्च आर्थिक वृद्धिदर र कम्पनीहरुको आम्दानी पनि उच्च रहने योजनाका साथ ल्याएको आर्थिक नीतिको कारण अमेरिकासँगको व्यापारयुद्ध चर्किएको हो । अमेरिकामा ट्रम्पले आफूले बोलेका धेरै योजनाहरु लागू गर्दै आएका छन् तर अहिलेसम्म अमेरिकामा उनको लोकप्रियता भने आशा गरिएअनुसार सुधार हुन सकेको छैन । यस्तोमा अर्थतन्त्र केही मात्र कमजोर बनेको खण्डमा पनि ट्रम्प अर्को निर्वाचनमा समस्यामा पर्नसक्ने देखिन्छ ।

अहिले देखिएको चीन–अमेरिकाको व्यापारिक द्वन्द्वको कारण विश्व बजारमा अत्यधिक मात्रामा तरलता पैदा भएको छ । यो तरलताले विश्वको आर्थिक सुधार आगामी वर्ष कमजोर रहने बताइँदै आएको छ ।

अहिलेको आर्थिक अवस्था हेर्ने हो भने अमेरिकाको लागि पनि व्यापारयुद्धको नतिजा आगामी वर्ष राम्रो नहुने ब्रिस बताउँछन् । यद्यपि अहिले भने अमेरिकाको अर्थतन्त्र बलियो अवस्थामा रहेको उनको भनाइ छ । यस वर्ष अमरिकाको व्याजदर लगातार बढ्नुले विश्व बजारमा समस्या बढाएको हो । हाम्राकुरा वाट साभार