अखाध्य वस्तु बिक्रीको केन्द्र बन्दै बर्दघाटका हाट बजार

प्रकाशित मिति:
प्रकाश न्यौपाने
चैत १६, नवलपरासी
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र संचालनमा रहेका हाटबजारहरु ब्यापकरुपमा अखाध्य बस्तु विक्रि वितरणको अखडा बन्दै गएका छन् । गत हप्ता आईतबार र बुधबार गरी बर्दघाट ९ पञ्चनगर र बर्दघाट २ चिसापानीको हाटबजार अनुगमन गरेको नगरले शुक्रबार बर्दघाट ४ को हाटबजार गरेको छ ।

हाटबजारहरुको अनुगमन गर्ने क्रममा तिनवटै हाटबजारमा अखाध्य बस्तुहरु खुलेआम विक्रि वितरण भैरहेको पाईएको हो । गत हप्ता बजार अनुगमन गर्दै नगरले अखाध्य बस्तुहरु विक्रि वितरण नगर्न निर्देशन दिए पनि शुक्रबारको हाट बजारमा भने अखाध्य बस्तुहरु ब्यापक रुपमा भेटिएको छ ।
नगरले दिएको निर्देशन हाटबजार ब्यबसायीहरुले कत्तिपनि टेरेका छैनन् । उल्टै नगरपालिकालाई चुनौती दिँदै अनुगमनमा खटिएका प्रतिनिधिहरुलाई ब्यबसायीले तथानाम बोल्दै गाली गलौचमा उत्रिएका छन् ।

बर्दघाट नगरपालिकाले हाटबजारमा  मासु विक्रिमा प्रतिबन्ध लगाए पनि ३ बटै हाटबजारमा खुलेआम मासु विक्रि भएको देखीको छ । जसका कारण ब्यबसायीहरुले नगरको निर्देशन लत्याउँदा उपभोक्ताको स्वास्थ्यमा गम्भिर खेलबाड भएको उपभोक्ता हकहित संरक्षण मञ्च बर्दघाटका अध्यक्ष हुमनाथ आचार्यले बताउनुभयो । पञ्चनगर र चिसापानीको हाटबजार अनुगमन गरी मासु र अखाध्य बस्तु विक्रि वितरण गर्न नहुने जानकारी गराउँदा समेत ब्यबसायीहरुले कत्ति पनि टेरेनन्  जसका कारण उपभोक्ता मारमा पर्दै आईरहेका छन् ।

कार्यपालिका सदस्य मञ्जु चालिसेको नेतृत्वमा खाध्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दिपक यादव सहित शुक्रबार बर्दघाट ४ को हाटबजार र नगरपालिका वरपर भएका केही होटलहरुको अनुगमन गरेको छ । हाट बजारको  अनुगमनमा झिँगा भन्केको र कोल्ड चेन प्रयोग नभएको माछा मासु, दालमोठ नमकिन लगायका अखाद्यबस्तुहरु विक्रि भैरहेको पाईयो  । हाटबजारमा धेरै विक्रि हुने चटपट जेरी लगायतका परिकारहरु प्रिन्टेड पेपरमा बेरेर दिएको भेटिएको छ जुन क्यान्स सम्मको जोखिम बढाउने भएकोले हानीकारक मानिन्छ ।

बजार अनुगमनका क्रममा झिँगा भन्केको र कोल्ड चेन प्रयोग नगरेको करिव १० किलो मासु खाडल खनी पुरेर नष्ट गरिएको नगरका पशु चिकित्सक देबेन्द्र घिमिरेले बताउनुभयो । त्यस्तै हाटबजारमा उत्पादन मिति उल्लेख नगरी प्याकेजीङ गरिएका दालमोठ नमकिनहरु नष्ट गरिएको नगरको उद्योग शाखा प्रमुख पशुपती गैरेले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा अटेरी गर्ने र नगरपालिकाको निर्देशन नमान्ने ब्यापारीहरुलाई कारबाहीको दायरामा ल्याउने नगर उपप्रमुख एवं अनुगमन समिति संयोजक रुद्रप्रकाश उपाध्यायले बताउनुभयो । उहाँ भन्नुहुन्छ  “ अटेरी गरी अखाध्य बस्तु विक्रि वितरण गर्नेलाई कानुन अनुसार अगाडिबढ्ने र मर्यादित रुपमा ब्यापार गरीरहेका ब्यापारीहरुलाई प्रोत्साहन मिल्ने गरी अनुगमन निरन्तर चलिरहन्छ । ”