बुटवल । रुपन्देही र आसपासका बासिन्दाहरुलाई नयां वर्ष २०८१ अविस्मरणीय र रमाइलो गरी मनाउनका लागि लुम्बिनी केबलकार विल्कुलै नौलो ठाउं हुन सक्छ । किनकी केबलकार चढेर १२ मिनेटको रोमाञ्चक यात्रापछि पाल्पाको बसन्तपुर डांडा पुगिन्छ । यसअघिका नयां वर्ष अन्य स्थानमा मनाएका यस क्षेत्रका बासिन्दाहरुका लागि नयां वर्ष २०८१ मनाउने उपयुक्त थलो लुम्बिनी केबलकार बन्ने निश्चित छ । किनकी यो केबलकार गत वर्षको जेठ १५ देखि मात्रै सञ्चालनमा आएको लुम्बिनी प्रदेशकै पहिलो हो ।
यस क्षेत्रको नौलो पर्यटकीय स्थल भएको र टप स्टेशन बसन्तपुर प्राकृतिक रुपमा स्वच्छ, शान्त, रमणीय हिल स्टेशनका साथै कामाख्या देवी मन्दिर र सय वर्ष अघि देखि पुजा हुंदै आएको दुर्गा माता मन्दिरमा दर्शन गरेर मनोकामना पूरा होस् भनी कामना गर्न पनि पाइन्छ । अनि जीपलाइन, बाल उद्यान, शान्त र स्वच्छ वातावरणका कारण यसपटकको नयां वर्ष बसन्तपुरमा मनाउनेहरुको संख्या उल्लेख्य हुने अनुमान गरिएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थले बताए ।
‘यसअघि विशेष अवसरहरुमा चार हजारसम्म पर्यटक आएको रेकर्ड छ, नयां वर्षका अवसरमा पनि राम्रै पर्यटक आउने आंकलन छ’–सैजूले भने–‘बसन्तपुरमा दिनभरि भुल्ने रमाउने र मनोरन्जन लिने गरी पुर्वाधारहरु बनेका छन्, हामी पर्यटकलाई स्वागत गर्न तयार छौं ।’ पर्यटकहरु बसन्तपुरस्थित कामाख्या मन्दिरमा जारी दिब्य महाआरतीमा पनि सहभागी हुन सक्ने छन् ।
नयां वर्षलाई लक्षित गरी कम्तीमा २५ जनाको समूहमा आउनेलाई पिकनिक खान पाउने व्यवस्था पनि केबलकारले गरेको छ ।