बुटवल-चैत–३०- बुटवल–८ सुख्खानगर स्थित दीप बोर्डिङ हाई स्कुलको वार्षिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण, सम्मान एवम् सांस्कृतिक कार्यक्रम शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल अब शिक्षाको हब बनेको बताउँदै बुटवलमा राति ११ बजेदेखि बिहान ६ बजेसम्मबाहेक अन्य समयमा शिक्षा लिन चाहने विद्यार्थीले पढ्न पाउने वातावरण बनेको बताउनुभयो । उहाँले उपमहानगरले सबै पक्षलाई छलफलमा बोलाई विद्यालयको शुल्क निर्धारण गरेको बताउँदै दीप बोर्डिङले सामुदायिक विद्यालयले गर्नुपर्ने काम गरेर शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।कार्यक्रममा बुटवल बुटवलउपमहानगरपालिका शिक्षा महाशाखाका उपनिर्देशक टीकाराम पन्थीले बुटवल क्षेत्र मात्र नभएर राष्ट्रको शैक्षिक उन्नयनमा दीपले पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा यस विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो भने अभिभावक रमेश कुँवरले विद्यार्थीको सफलताका लागि विद्यालय र शिक्षकका साथमा अभिभावकले पनि विशेष निगरानी र चासो राख्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षता, अभिभावक महासङ्घका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, धर्म सिर्जना टोल विकास समितिका अध्यक्ष पवित्रा ज्ञवाली, उपप्राचार्य सुरेन्द्रकुमार शाक्य, वि.व्य.स. सदस्य वसन्तकुमार जोशी, लेखाप्रमुख रेखा श्रेष्ठलगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्राचार्य कलाधर अर्यालले स्वागत मन्तव्य तथा शिक्षक पुरुषोत्तम पाण्डेय र विजय सापकोटाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।कार्यक्रममा वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल कक्षागत तथा तहगत एवम् कक्षा नर्सरीदेखि कक्षा १२ सम्म दीप बोर्डिङमा अध्ययन गर्ने विद्यार्थीहरूलाई अभिभावकसहित पुरस्कार र सम्मान प्रदान गरिएको थियो
त्यसैगरी शैक्षिक सत्रभरि पूर्ण उपस्थित हुने शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरिएको थियो भने विद्यालयमा दीर्घसेवा गरी सेवानिवृत भएका शिक्षक र कर्मचारीलाई उपादानसहित दोसल्ला, कदरपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।यसका साथै माध्यमिक शिक्षा परीक्षा (एसइइ–२०७९)मा सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउन सफल गणित विषय शिक्षक के.बी. खाम्चा, कम्प्युटर विषय शिक्षक एकराज गुरागाई र अङ्ग्रेजी विषयशिक्षक दीपकचन्द्र भुसाल तथा विद्यालयका गतिविधिमा विशेष योगदान पु¥याउने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा दीप सांस्कृतिक परिवारका विद्यार्थी कलाकारहरूले मौलिक लघु नाटक, नृत्य, गीत, विद्यालय गीत, योग, बालगीत आदि प्रस्तुत गरेका थिए ।