डा. महावीर पुनले भने युवा अवस्थामा गर्ने संघर्षले नै उसको र समाजको भविष्य तय हुन्छ
तिलोत्तमा, वैशाख । म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डा. महावीर पुनले हरेक मानिसले युवा अवस्थामा गर्ने संघर्षले नै उसको र समाजको भविष्य तय हुने बताउनुभएको छ ।राममणि बहुमुखी क्याम्पस, मणिग्रामका विद्यार्थीलाई उत्प्रेरणामुलक प्रवचन दिँदै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहनुभएका वैज्ञानिक पुनले संघर्ष शब्द विद्यार्थीको समानार्थी शब्द हो भन्दै आफूले प्रकाशन गरेको पुस्तकले पनि संघर्ष गर्न प्रेरित गर्ने बताउनुभयो ।
“महावीर पुनः सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक विक्री गरेर राष्ट्रिय कृषि औजार कारखाना सञ्चालन गर्ने अभियान सहित देश दौडाहामा रहनुभएका वैज्ञानिक पुनलाई राममणि क्याम्पसले स्वागत गर्ने क्रममा उहाँले विद्यार्थी जीवन समाप्तिसँगै पारिवारिक–सांसारिक संघर्षका लागि तयार हुनेगरी अघि बढ्न आग्रह गर्नुभयो ।क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको अध्यक्षता र सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेयको सञ्चालनमा भएको कार्यक्रमबीच वैज्ञानिक पुनले प्रकाशन गर्नुभएको पुस्तक विद्यार्थी, कर्मचारी, प्राध्यापक, स्थानीय अभिभावक र क्याम्पस पुस्तकालयले खरीद गरेको लेखाप्रमुख विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।